इन्डोनेसियामा शिशु तस्करी गर्ने १९ जनालाई जेल सजाय, सिङ्गापुर पुर्‍याइएका शिशुबारे बोलेन अदालत

इन्डोनेसियामा शिशु तस्करी गर्ने १९ जनालाई जेल सजाय, सिङ्गापुर पुर्‍याइएका शिशुबारे बोलेन अदालत

एजेन्सी : इन्डोनेसियाको एउटा अदालतले शिशुहरूको अवैध किनबेच र बेचबिखन गरेको आरोपमा १९ जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।

यो गिरोहले इन्डोनेसियामा कम्तीमा ३४ जना शिशु किनेर धर्मपुत्र/धर्मपुत्री बनाउने बहानामा सिङ्गापुरलगायत ठाउँमा बेचेको खुलेको छ।

पश्चिम जाभाको अदालतले गिरोहकी मुख्य नाइके मानिएकी ७० वर्षीया लाई सिउ लुआनलाई सबैभन्दा बढी ७ वर्षको जेल सजाय सुनाएको छ।

उनलाई शिशुहरू खोज्न, नक्कली कागजात बनाउन र दलालहरू खटाउन मानिसहरू परिचालन गरेको आरोप थियो। सरकारी वकिलले उनलाई १० वर्षको सजाय माग गरेका थिए।

गिरोहमा संलग्न शिशुका सुसारे, दलाल र नक्कली आमा बनेका महिलासमेत १८ जनालाई ३ देखि साढे ६ वर्षसम्मको जेल सजाय तोकिएको छ। नक्कली जन्मदर्ता र कागजात बनाएकी लाई सिउ हालाई ६ वर्ष ७ महिनाको सजाय सुनाइएको छ।

यद्यपि, उनका वकिलले यो फैसलाविरुद्ध अपिल (पुनरावेदन) गर्ने बताएका छन्। त्यस्तै, मुख्य दलाल अस्त्री फित्रिनिका र गिरोहका एकमात्र पुरुष ज्याका हमदानी हुताबारतलाई पनि ६ वर्ष ७ महिनाकै जेल सजाय सुनाइएको छ।

कसरी खुल्यो रहस्य ?
यो गिरोह सन् २०२३ देखि सक्रिय थियो। अप्रिल २०२५ मा पश्चिम जाभाका दानी हिदायत नाम गरेका एक व्यक्तिले आफ्ना नवजात शिशु अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो।

हिदायतले फेसबुकमार्फत अस्त्री फित्रिनिकालाई भेटेका थिए। अस्त्रीले आफूले बच्चा जन्माउन नसक्ने बताउँदै पैसा दिएर शिशु धर्मपुत्र बनाउने प्रस्ताव राखेकी थिइन्।

तर, सहमतिअनुसारको पैसा नपाएपछि हिदायत प्रहरीकहाँ पुगेका थिए। प्रहरीले अस्त्रीको फोन जाँच गर्दा उनले दर्जनौँ शिशु यसैगरी खरिद-बिक्री गरेको र सिङ्गापुरसम्म पठाएको पत्ता लागेको थियो।

अब शिशुहरूको के हुन्छ ?
अदालतले दोषीहरूलाई सजाय त सुनायो, तर बेचिएका शिशुहरूको भविष्य के हुनेछ भन्ने स्पष्ट पारेको छैन। विशेषगरी, सिङ्गापुर पुर्याइएका १२ जना शिशुको अवस्थालाई लिएर चिन्ता बढेको छ।

इन्डोनेसियाको सामाजिक मामिला मन्त्रालयका अनुसार, उद्धार गरिएका शिशुहरूको अवस्था मूल्याङ्कन गरेर उनीहरूलाई जैविक परिवारमै फर्काउने वा सुरक्षित वैकल्पिक स्याहारमा राख्ने भन्ने निर्णय गरिनेछ।

हाल उद्धार गरिएका ८ जना शिशुलाई पश्चिम जाभाको एउटा अनाथालयमा राखिएको छ।

सिङ्गापुरमा रहेका ती १२ शिशुका धर्मबाबु-आमा अहिले ठूलो तनावमा छन्।

यही गिरोहले ल्याएको मार्कस नाम गरेका एक शिशुलाई धर्मपुत्र बनाएका सिङ्गापुरका एक पिता डेभिडले भने, ‘हाम्रो चिन्ता फैसलाभन्दा पनि हाम्रो छोराको भविष्यलाई लिएर छ। हामी एउटा सामान्य परिवार जसरी शान्तिसँग बाँच्न चाहन्छौँ। हामी पनि यो घटनाका पीडित हौँ।’

यो घटनापछि सिङ्गापुरका सांसदहरूले अन्तर्राष्ट्रिय रूपमा गरिने धर्मपुत्र/धर्मपुत्री सम्बन्धी कानुन र नियमलाई अझ कडा बनाउनुपर्ने माग उठाएका छन्।

सिङ्गापुर सरकारले यस विषयमा अनुसन्धान गरी नियम परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ। दुवै देशका सरकारले यी शिशुको भविष्यबारे छिट्टै उचित निर्णय लिने अपेक्षा गरिएको छ।

साउन ६, २०८३ बुधबार ०९:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।