नीट प्रश्नपत्र लिक प्रकरण : युवासँग संवाद गर्न र भ्रम चिर्न सांसदलाई मोदीको निर्देशन

नीट प्रश्नपत्र लिक प्रकरण : युवासँग संवाद गर्न र भ्रम चिर्न सांसदलाई मोदीको निर्देशन

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)) का सांसदहरूलाई विद्यार्थी तथा युवाहरूसँग प्रत्यक्ष संवाद गर्न, उनीहरूको कुरा सुन्न र राज्यले उनीहरूको भविष्य सुरक्षित गर्ने कुरामा आश्वस्त पार्न निर्देशन दिएका छन्।

एनडीए संसदीय दलको बैठक 'मङ्गल मिलन' लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सांसदहरूलाई आ-आफ्नो क्षेत्रका विद्यार्थीहरूमाझ पुग्न आग्रह गरेका हुन्।

मोदीले नीट परीक्षाको प्रश्नपत्र लिक र धाँधलीमा संलग्न दोषीहरूलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय दिइने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।  

मेडिकल प्रवेश परीक्षा नीटको प्रश्नपत्र लिक प्रकरणमा परेका र संलग्न रहेका जो-कसैलाई पनि कडा सजाय दिइने र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नदिइने उनले स्पष्ट पारे।

संसद्‌भित्र र बाहिर नीट प्रश्नपत्र लिकलाई लिएर विपक्षी दलहरू र विद्यार्थी सङ्गठनहरूले व्यापक विरोध प्रदर्शन गरिरहेका बेला प्रधानमन्त्रीको यो भनाइ आएको हो। उनले सांसदहरूलाई विपक्षीका भ्रम र षड्यन्त्रबारे विद्यार्थीहरूलाई सचेत गराउनसमेत आग्रह गरेका छन्।

"पक्राउ परेका व्यक्तिहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ... तर विपक्षी दलहरूले रचिरहेको षड्यन्त्रबारे विद्यार्थीहरूलाई सचेत गराउनुपर्छ," बैठकको विवरणबारे जानकार व्यक्तिलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

एनडीएका सांसदहरूको 'मंगल मिलन' बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले प्रधानमन्त्री मोदीको भनाइबारे जानकारी दिएका हुन्। रिजिजुले प्रधानमन्त्रीले हालैका उपलब्धि, विभिन्न देशसँग भएका स्वतन्त्र व्यापार सम्झौता र किसानको हितलाई प्राथमिकतामा राखिने विषयमा पनि सांसदहरूलाई मार्गदर्शन दिएको जानकारी दिए।

साउन ५, २०८३ मंगलबार १५:०९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।