क्यानडामाथि खनिए ट्रम्प : सिमेन्टदेखि वाइनसम्म ५० प्रतिशत कर, ५१औं राज्य बनाउने धम्कीले फेरि तरङ्ग !

क्यानडामाथि खनिए ट्रम्प : सिमेन्टदेखि वाइनसम्म ५० प्रतिशत कर, ५१औं राज्य बनाउने धम्कीले फेरि तरङ्ग !

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ लगाएका छन्। अमेरिकी कार, डेरी उत्पादन र मदिरामाथि क्यानडाले असमान व्यवहार गरेको भन्दै त्यसको बदलामा यस्तो कदम चालिएको ट्रम्पको दाबी छ।

यसको तारोमा वाइन, हक्की स्टिक जस्ता दैनिक उपभोग्य वस्तुदेखि सिमेन्ट जस्ता औद्योगिक उत्पादनसम्म परेका छन्। यद्यपि, ऊर्जा, पोटास, महत्त्वपूर्ण खनिज र माछाजस्ता मुख्य निर्यात हुने वस्तुहरूलाई भने यसबाट छुट दिइएको छ।

यसको जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी साताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई तीव्र बनाउन क्यानडा तयार रहेको बताएका छन्।

ह्वाइट हाउसले यो भन्सार महसुल ३० दिनभित्र लागू हुने जनाएको छ। यसले दुई उत्तर अमेरिकी छिमेकी देशहरूबीचको व्यापारिक तनावलाई ह्वात्तै बढाएको छ। क्यानडा, अमेरिका र मेक्सिकोबीचको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत परेका वा नपरेका, तोकिएका सबै वस्तुहरूमा यो नयाँ महसुल लागू हुनेछ।

प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकाले स्वतन्त्र व्यापार सम्झौताको ठाडो उल्लङ्घन गर्दै एकतर्फी रूपमा भन्सार बढाउँदै आएको छ, यो कदम त्यसैको पछिल्लो शृङ्खला हो।’

विज्ञप्तिमा उनले क्यानडाको सार्वभौमसत्तामाथिको खतरालाई पनि औँल्याएका छन्। ट्रम्पले क्यानडालाई ५१औं अमेरिकी राज्य बनाउनुपर्ने भन्दै दिएको अभिव्यक्तितर्फ इङ्गित गर्दै कार्नीले यस्तो बताएको बुझिएको छ।

पहिलेदेखिकै व्यापार अवरोध
सोमबार घोषणा गरिएको यो आयात कर दुई देशबीच पहिलेदेखि नै रहेको व्यापार अवरोधकै निरन्तरता हो। अमेरिकाले क्यानडेली स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ।

वासिङ्टनले क्यानडाको काठमा ३५ प्रतिशत र कारमा प्रयोग हुने गैर-अमेरिकी पार्टपुर्जामा २५ प्रतिशत कर लगाउँछ। जवाफमा क्यानडाले पनि अमेरिकाबाट आउने स्टिल, आल्मुनियम र सवारी साधनमा २५ प्रतिशत काउन्टर-ट्यारिफ लगाएको छ।

क्यानडाको डढेलोको धुवाँ अमेरिकी शहरहरूमा फैलिएको भन्दै ट्रम्पले कर बढाउने धम्की दिएलगत्तै यो घोषणा भएको हो। यद्यपि, सोमबार ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशमा डढेलोको प्रसङ्ग उल्लेख छैन।

त्यसको सट्टा तीनवटा घोषणाहरूमा कार, डेरी र मदिरासँग सम्बन्धित व्यापारिक असन्तुष्टिहरूलाई कारण देखाइएको छ।

के हुन् विवादका मुख्य विषय ?
ट्रम्पले क्यानडामाथि स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत नपर्ने अमेरिकी मोटर र पार्टपुर्जामा कर लगाएको आरोप लगाएका छन्। उनले यसलाई अनुचित भन्दै क्यानडाले अन्य देशलाई यस्तो कर नलगाएर अमेरिकालाई मात्र विभेद गरेको दाबी गरेका छन्।

क्यानडा, अमेरिका र मेक्सिकोबीच अटोमोटिभ उत्पादन उच्च रूपमा अन्तरसम्बन्धित छ। तर, ट्रम्पका वाणिज्य मन्त्री हवार्ड लुटनिकले क्यानडा अमेरिकाभन्दा दोस्रो प्राथमिकतामा पर्नुपर्ने बताउँदै आएका छन्।

उता, डेरी उत्पादन अमेरिकाका लागि लामो समयदेखि टाउको दुखाइको विषय बनेको छ। क्यानडाको आपूर्ति व्यवस्थापन प्रणालीले विदेशी आयातमा सीमा तोक्छ र सीमा नाघ्ने उत्पादनमा ३०० प्रतिशतभन्दा बढी भन्सार लगाउँछ।

त्यसैगरी, गत वर्षदेखि अधिकांश क्यानडेली प्रान्तहरूले अमेरिकी मदिराको बहिष्कार गरेपछि यो अमेरिकाका लागि अर्को ठूलो समस्या बनेको छ।

क्यानडेली प्रान्तीय सरकार प्रमुखहरूले अमेरिकाले धातु र अटोमोबाइलमा लगाएको कर हटाए मदिराको बहिष्कार पनि हट्ने बताउँदै आएका छन्। क्यानडाका व्यापार वार्ताकारहरू वर्तमान अमेरिकी करलाई कम्तीमा पनि घटाउने गरी सम्झौता गर्न प्रयास गरिरहेका छन्।

उत्तर अमेरिकी व्यापार सम्झौता नवीकरणमा अमेरिकी अवरोध
यस वर्षको सुरूमा, अमेरिकाले स्वतन्त्र व्यापार सम्झौतालाई वर्तमान स्वरूपमा नवीकरण नगर्ने निर्णय गरेको थियो। क्यानडा र मेक्सिकोले यो सम्झौताको नवीकरण चाहे पनि अमेरिका यो सम्झौतामा केही परिवर्तन चाहन्छ।

गत फेब्रुअरीमा, अमेरिकी सर्वोच्च अदालतले सन् १९७७ को इन्टरनेसनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट प्रयोग गरी ट्रम्पले लगाएको व्यापक अन्तर्राष्ट्रिय करलाई खारेज गरिदिएको थियो। राष्ट्रिय सङ्कटकालका लागि मात्र प्रयोग हुने कानुनको आधारमा कर लगाएर राष्ट्रपतिले आफ्नो अधिकारको दुरुपयोग गरेको अदालतको ठहर थियो।

त्यतिबेला ह्वाइट हाउसले आयात कर लगाउन अन्य संयन्त्र प्रयोग गर्ने चेतावनी दिएको थियो। सोमबार घोषणा गरिएको नयाँ कर ‘सन् १९३० को ट्यारिफ एक्ट’को दफा ३३८ अन्तर्गत ल्याइएको हो, जसले राष्ट्रिय सङ्कटकाल नभई व्यापारिक विभेदलाई सम्बोधन गर्छ।

क्यानडेली चेम्बर अफ कमर्सकी प्रमुख क्यान्डेस लाइङले पछिल्लो करलाई खेदजनक निर्णय भन्दै नयाँ महसुल ३० दिनमा लागू हुनुअघि नै वार्तामा अर्थपूर्ण प्रगति गर्न अधिकारीहरूलाई आग्रह गरेकी छन्।

अमेरिकी डिस्टिल्ड स्पिरिट्स काउन्सिलका प्रमुख क्रिस स्वङ्गरले पनि दुवै पक्षलाई समाधान खोज्न आग्रह गर्दै यस निर्णयले थप प्रतिशोधको जोखिम बढाउने चेतावनी दिएका छन्।

साउन ५, २०८३ मंगलबार १०:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।