कक्रोच जनता पार्टीको संसद मार्चमा प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार, सरकारसँग वार्ता सुरु

कक्रोच जनता पार्टीको संसद मार्चमा प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार, सरकारसँग वार्ता सुरु

एजेन्सी : नीट मेडिकल प्रवेश परीक्षामा भएको भनिएको प्रश्नपत्र चुहावट र अनियमितताको विरोधमा नयाँ दिल्लीमा भइरहेको प्रदर्शनले उग्र रूप लिएको छ। बर्खे अधिवेशनको पहिलो दिन 'ककरोच जनता पार्टी' (सीजेपी) का समर्थकहरूले घोषणा गरेको 'चलो संसद' मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

संसद् घेर्न खोज्दा झडप: लाठीचार्ज, अश्रुग्यास र इन्टरनेट बन्द
जन्तरमन्तरबाट संसद् भवनतर्फ अघि बढेका करिब आठ हजार प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। भीडलाई नियन्त्रणमा लिन दिल्ली प्रहरीले संविधान क्लब र भारतीय रिजर्भ बैंक नजिकै प्रदर्शनकारीमाथि अन्धाधुन्ध लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।

आन्दोलनकारीहरूले प्रहरीले अत्यधिक बल प्रयोग गरेको र प्रदर्शनस्थलमा इन्टरनेट सेवासमेत बन्द गरिदिएको आरोप लगाएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दिल्ली प्रहरीले भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा जारी गरेको छ भने राजीव चोक, जनपथ, पटेल चोक, सेन्ट्रल सेक्रेटेरिएट जस्ता पाँचवटा व्यस्त मेट्रो स्टेशन बन्द गरिँदा सर्वसाधारण यात्रुहरू अलपत्र परेका छन्।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जन्तरमन्तर र संसद् भवन वरपर दङ्गा नियन्त्रण सवारी साधन र भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

अस्पतालबाटै सोनम वाङचुकको अपिल
विगत २० दिनभन्दा लामो समयदेखि आमरण अनसनमा रहेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई गत हप्ता प्रहरीले जबरजस्ती उठाएर सफदरजंग अस्पताल भर्ना गरेको थियो। अस्पतालको बेडबाटै एक हस्तलिखित पत्र जारी गर्दै वाङचुकले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाइएको आरोप लगाउँदै संसद् मार्चमा सामेल हुन पाउनुपर्ने माग गरेका छन्। 

उनले अनसन तोड्नका लागि सरकारले शिक्षा प्रणालीमा भएका गल्ती र पेपर लिकको पूर्ण जिम्मेवारी लिनुपर्ने र विभिन्न राजनीतिक दलका सांसदहरूले संसद्‌मा यो आवाज उठाउने लिखित प्रतिबद्धता जनाउनुपर्ने लगायतका सर्त सरकारसामु राखेका छन्।

‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन गत मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेपछि सुरु भएको हो।

प्रदर्शनकारीहरूले उक्त टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात् गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई व्यापक बनाएका हुन्। अमेरिकाबाट फर्किएका ३० वर्षीय अभिजित दिपकेले यो आन्दोलनको नेतृत्व गरिरहेका छन्। उनीहरूको मुख्य माग केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र निट घोटालाको निष्पक्ष छानबिन रहेको छ।

राजनीतिक दल र सेलिब्रेटीहरूको ऐक्यबद्धता
यो आन्दोलनलाई विपक्षी दल र नागरिक समाजले समर्थन गरेका छन्। आम आदमी पार्टीका नेताहरू मनिष सिसोडिया, आतिशी, संजय सिंह, आजाद समाज पार्टीका प्रमुख चन्द्रशेखर आजाद र टीएमसी सांसद महुआ मोइत्राका साथै प्रसिद्ध अभिनेता प्रकाश राज र अभिनेत्री शबाना आजमी पनि प्रदर्शनस्थल पुगेर ऐक्यबद्धता जनाएका छन्। 

'आप' संयोजक अरविन्द केजरीवालले देशका युवा न्यायको माग गर्दै सडकमा उत्रिएकाले उनीहरूको आवाज सुन्न सरकारलाई अपिल गरेका छन्।

वार्ताका लागि सरकार अगाडि बढ्यो
तनाव बढ्दै गएपछि गएपछि केन्द्र सरकारले आन्दोलनकारीसँग वार्ताको पहल गरेको छ। सीजेपीका प्रवक्ताद्वय अभिजित दिपके र सौरभ दाससहितको टोली केन्द्रीय मन्त्री जेपी नड्डासँग वार्ताका लागि प्रस्थान गरेको छ। 

प्रवक्ता दिपकेले वार्ताको परिणाम नआएसम्म प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा प्रदर्शनस्थलमै बसिरहन अपिल गरेका छन्।

साउन ४, २०८३ सोमबार १४:५६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।