बेलायतमा पछिल्लो चार वर्षमा पाँचौं प्रधानमन्त्री शपथ हुँदै, के छन् एन्डी बर्नहमका योजना ?

बेलायतमा पछिल्लो चार वर्षमा पाँचौं प्रधानमन्त्री शपथ हुँदै, के छन् एन्डी बर्नहमका योजना ?

लन्डन : बेलायतका प्रधानमन्त्री कियर स्टार्मरलाई प्रतिस्थापन गर्दै लेबर पार्टीका नेता एन्डी बर्नहम आज बेलायतको नयाँ प्रधानमन्त्री बन्दैछन्। विगत चार वर्षमा बेलायतले पाउन लागेको यो पाँचौं प्रधानमन्त्री हो।

वर्तमान प्रधानमन्त्री कियर स्टार्मरले आज डाउनिङ स्ट्रिटबाट आफ्नो अन्तिम बिदाइ मन्तव्य दिनेछन्। त्यसपछि उनी बकिङ्घम प्यालेस पुगेर राजा चार्ल्स तृतीयसमक्ष औपचारिक रूपमा राजीनामा बुझाउनेछन्।

स्टार्मर फर्किएपछि एन्डी बर्नहम राजा चार्ल्सलाई भेट्न प्यालेस पुग्नेछन्। त्यहाँ राजाले उनलाई नयाँ सरकार गठन गर्न आमन्त्रण गर्नेछन् र उनी औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त हुनेछन्। सन् २०२२ मा राजा बनेयता चार्ल्सले नियुक्त गर्न लागेका उनी चौथो प्रधानमन्त्री हुन्।

राजालाई भेटेपछि बर्नहम डाउनिङ स्ट्रिट फर्किनेछन् र प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो सम्बोधन गर्नेछन्। त्यसपछि उनी नयाँ मन्त्रिपरिषद् चयनलगायतका काममा व्यस्त हुनेछन्।

बर्नहमले आफ्ना नीतिहरूबारे विस्तृत रूपमा सार्वजनिक गरिसकेका छैनन्, तर महँगीबाट जनतालाई राहत दिने उनको मुख्य योजना रहेको बीबीसीले जनाएको छ। ऊर्जाको बिल घटाउने, बस भाडा सस्तो बनाउने र साना व्यवसायलाई कर छुट दिने जस्ता घोषणाहरू हुन सक्नेछन्।

मानिसहरूले आयकर तिर्नुपर्ने न्यूनतम १२ हजार ५७० पाउन्डलाई बढाउने सङ्केत समेत उनले गरेका छन्। यसले आम नागरिकलाई ठूलो राहत दिने अपेक्षा छ। ठूलो मात्रामा सरकारी आवास निर्माण गर्ने योजना उनीसँग छ। साथै, खानेपानी र ऊर्जा क्षेत्रमा सरकारी नियन्त्रण बढाउने उनको लक्ष्य छ।

पदभार ग्रहण गरेलगत्तै उनलाई शीर्ष निजामती कर्मचारीहरूले देशको सुरक्षा अवस्था र ‘आणविक हतियारका कोडहरू’बारे गोप्य जानकारी (ब्रिफिङ) दिनेछन्।

राजनीतिक चुनौती र आलोचकको भनाइ
बेलायतमा लगातार प्रधानमन्त्री फेरिने क्रम चलिरहेको छ। सन् २०२२ यता मात्र बोरिस जोनसन, लिज ट्रस, ऋषि सुनक र किर स्टार्मर गरी चार जना प्रधानमन्त्री फेरिइसकेका छन्। बर्नहमले देशमा राजनीतिक स्थिरता ल्याउनुपर्ने ठूलो चुनौती छ।

विपक्षी कन्जरभेटिभ पार्टीकी नेतृ केमी बडेनोचले बर्नहमलाई बधाई दिँदै उनीसँग देश चलाउने कुनै "स्पष्ट योजना नभएको" आरोप लगाएकी छन्। उनले कर नबढाउन र उत्तरी सागरमा तेल तथा ग्यास उत्खननमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गरेकी छन्।

लेबर पार्टीकै समर्थकहरूले भने यो बर्नहम र पार्टीका लागि देशको अवस्था सुधार्ने 'अन्तिम अवसर' भएको बताएका छन्। बर्नहमले 'द टाइम्स' पत्रिकासँगको अन्तर्वार्तामा रातारात कुनै चमत्कार नहुने, तर देशको अर्थतन्त्र सुधार्न आफूले १० वर्षे दीर्घकालीन योजना बनाएको बताएका छन्।

किन भएन आम निर्वाचन?
धेरैलाई लाग्न सक्छ, नयाँ प्रधानमन्त्री आउँदा देशमा चुनाव किन भएन? बेलायतको कानुनअनुसार प्रधानमन्त्री परिवर्तन हुँदैमा आम निर्वाचन गर्नुपर्छ भन्ने छैन।

सत्तामा रहेको पार्टीले संसद्‌मा बहुमत गुमाएको छैन भने पार्टीभित्रको चुनावबाटै नयाँ नेता छिनेर उसलाई प्रधानमन्त्री बनाउन सकिन्छ। बेलायतमा अर्को आम निर्वाचन सन् २०२९ को अगस्टभन्दा अगाडि गर्नुपर्ने कानुनी बाध्यता छैन।

यसरी विगत १० हप्तादेखि लेबर पार्टीभित्र चलेको राजनीतिक उतारचढाव आज एन्डी बर्नहमको प्रधानमन्त्री पदको शपथसँगै नयाँ दिशामा अघि बढ्दैछ।

साउन ४, २०८३ सोमबार १३:५९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।