‘जेनजीको नाममा बनेको सरकार, जेनजी डाक्टरलाई न्याय दे’
काठमाडौं : विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले श्रम शोषणको अन्त्य र श्रम ऐन बमोजिमको सेवा सुविधा माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौं’, ‘जेनजीको नाममा बनेको सरकार, जेनजी डाक्टरलाई न्याय दे’, ‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रशिक्षार्थी चिकित्सकहरूले नेपालको श्रम ऐन, २०७४ अनुसार कार्य समय र बिदाको व्यवस्था हुनुपर्ने माग गरेका छन्। श्रम ऐन बमोजिम ड्युटी समय दैनिक अधिकतम १२ घण्टा र हप्तामा बढीमा ७२ घण्टा मात्र हुनुपर्ने उनीहरूको माग छ।
साथै, हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था गर्न र हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐन बमोजिम अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराउन उनीहरूले माग गरेका छन्।

प्रदर्शनका क्रममा चिकित्सकहरूले पारिश्रमिक र शैक्षिक नीतिसँग सम्बन्धित विषयहरू पनि उठाएका छन्। एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी/एमएस/एमडीएस अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्य अनुभवको प्रावधान खारेज गर्नुपर्ने माग समेत समितिले अघि सारेको छ।

साउन २, २०८३ शनिबार १७:१९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।