महिनावारी ट्र्याक गर्ने एप चलाउनुहुन्छ? सावधान, तपाईंको अति गोप्य विवरण असुरक्षित हुन सक्छ!
एजेन्सी : मोबाइलमा महिनावारी चक्र ट्र्याक गर्न प्रयोग हुने एपहरूले प्रयोगकर्ताको अत्यन्त संवेदनशील स्वास्थ्य विवरण संकलन गर्छन्। तर, ती जानकारी वास्तवमै सुरक्षित छन् त?
हालै गरिएको एक अनुसन्धानले लोकप्रिय पिरियड ट्र्याकर एपहरूले प्रयोगकर्ताको गोपनीयता विज्ञापन एजेन्सीहरूलाई पठाउने गरेको देखाएको छ।
फायरफक्स वेब ब्राउजरको निर्माता संस्था 'मोजिला फाउन्डेसन' ले फ्लो, क्लु, स्टारडस्ट, स्पट अन, पिरियड क्यालेन्डर र युकी गरी छ लोकप्रिय पिरियड ट्र्याकर एपहरूको गोपनीयता नीति र डेटा व्यवस्थापनको अध्ययन गरेको हो।
विशेष गरी सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक संरक्षण हटाएपछि यस्ता एपमा संकलित डेटा प्रहरी र सरकारी निकायले फौजदारी मुद्दामा प्रमाणका रूपमा प्रयोग हुन सक्ने जोखिमप्रति विज्ञहरूले थप चिन्ता व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
अनुसन्धानका अनुसार स्टारडस्ट एपले प्रयोगकर्ताको गर्भावस्थाको स्थिति, गर्भनिरोधकका उपाय, मुड, मदिरा सेवन, र स्तन दुख्ने वा पेट दुख्ने जस्ता स्वास्थ्यसम्बन्धी विवरण 'रडरस्ट्याक' नामक डेटा व्यवस्थापन कम्पनीलाई पठाउने गरेको पाइएको छ। तर, यो कुरा एपको गोपनीयता नीतिमा भने उल्लेख गरिएको छैन।
यद्यपि, स्टारडस्टका प्रवक्ताले रडरस्ट्याकलाई केवल डेटा स्थानान्तरण गर्ने प्लेटफर्मका रूपमा प्रयोग गरिएको र यसबाट प्रयोगकर्ताको नाम वा सम्पर्क नम्बर पहिचान नहुने दाबी गरेका छन्।
त्यस्तै, 'प्लान्ड पेरेन्टहुड' को स्पट अन एप आफैँले डेटा सेयर नगरे पनि, एपभित्रको एआई च्याटबोट वा स्वास्थ्य सेवा खोज्ने टुल प्रयोग गर्दा खुल्ने वेबसाइटले प्रयोगकर्ताले एचआईभी परीक्षण वा लैंगिकपहिचान सम्बन्धी सेवा खोजेको विवरण 'एबी टेस्टी' नामक एनालिटिक्स कम्पनीलाई पठाउने गरेको अनुसन्धानले देखाएको छ।
धेरैजसो एपहरूले प्रत्यक्ष स्वास्थ्य विवरण सेयर नगरे पनि प्रयोगकर्ताको डिभाइसको आईडी नम्बर र एप चलाएको जानकारी गुगल, मेटा, माइक्रोसफ्ट र टिकटक जस्ता विज्ञापन एजेन्सीहरूलाई पठाउने गरेको पाइएको छ।
पिरियड क्यालेन्डर एपले यस्तो डेटा गुगल र इनमोबीलाई पठाउने गर्छ र प्रयोगकर्तासँग त्यसलाई बन्द गर्ने विकल्प पनि छैन। स्टारडस्टले फेसबुक र एप्सफ्लायरसँग यस्ता विवरण दिने गरे पनि फोनको सेटिङबाट त्यसलाई रोक्न सकिन्छ।
विज्ञहरूका अनुसार प्रयोगकर्ताले पिरियड ट्र्याकर एप प्रयोग गरिरहेको छ भन्ने जानकारी मात्रै सार्वजनिक हुनु पनि सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ।
मोजिलाले युकी एपलाई सबैभन्दा सुरक्षित एपको रूपमा सिफारिस गरेको छ। यो एप प्रयोग गर्न कुनै एकाउन्ट बनाउनु पर्दैन र यसले प्रयोगकर्ताको सबै विवरण कम्पनीको सर्भरमा नपठाई सिधै प्रयोगकर्ताकै मोबाइलमै सुरक्षित राखिन्छ। साथै, कसैले मोबाइल हेरेमा झुक्क्याउन ‘फेक डेटा’ देखाउने सुविधा पनि यसमा उपलब्ध छ।
अर्कोतर्फ, फ्लो र क्लु एपहरूले स्वास्थ्य डेटा तेस्रो पक्षलाई नबेच्ने दाबी गरे पनि उनीहरूले प्रयोगकर्ताको ठुलो परिमाणको डेटा आफ्नै क्लाउड सर्भरमा भण्डारण गरेर राख्छन्।
मोजिलाका अनुसार सर्भरमा डेटा राखिँदा भविष्यमा डेटा ह्याक हुने वा सरकारले कानुनी रूपमा माग गर्दा विवरण बुझाउनुपर्ने जोखिम रहन्छ। यद्यपि, यी दुवै कम्पनी युरोपमा आधारित भएकाले अमेरिकी कानुनी मागहरू पूरा गर्न बाध्य नहुने र फ्लोमा एनोनिमस मोड उपलब्ध रहेको कम्पनीहरूको भनाइ छ।
अनुसन्धानले एपहरूको वर्तमान अवस्था मात्र नभई विगतको ट्र्याक रेकर्ड पनि हेर्नुपर्ने सुझाव दिएको छ। फ्लो एपले सन् २०२१ मा अमेरिकी संघीय व्यापार आयोगसँग एउटा मुद्दा सुल्झाएको थियो, जसमा गोपनीयताको प्रतिज्ञा गरेर पनि प्रयोगकर्ताको संवेदनशील विवरण मेटा र गुगलसँग सेयर गरेको आरोप लागेको थियो। त्यसपछि फ्लोलेले आफ्नो सुरक्षा प्रणालीमा व्यापक सुधार गरेको दाबी गरेको छ।
गोपनीयता अनुसन्धानकर्ता शोशना वोडिन्स्की भन्छिन्, "प्रयोगकर्ताले आफ्नो शरीर र स्वास्थ्यसम्बन्धी जानकारी कहाँ र कसरी प्रयोग भइरहेको छ भन्ने स्पष्ट रूपमा थाहा पाउनुपर्छ।"
विज्ञहरूका अनुसार महिनावारी ट्र्याक गर्ने एप छनोट गर्दा विज्ञापनका लागि डेटा सेयरिङ बन्द गर्न मिल्ने र सर्भरको सट्टा मोबाइलमै डेटा सुरक्षित राख्ने एपहरू रोज्नु उपयुक्त हुन्छ।
साउन २, २०८३ शनिबार ११:५४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।