नेपाल औषधि लिमिटेडले प्रेसर र सुगरसहित २ वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने
काठमाडौं : स्वदेशी औषधि उत्पादनलाई बलियो बनाउँदै आयातमा रहेको निर्भरता घटाउन सरकारले विशेष पहल सुरु गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६ प्रकारका अत्यावश्यक औषधिहरू उत्पादन गर्ने तयारी अघि बढाएको हो। मन्त्रालयका अनुसार दुई निकायबीच संस्थागत समझदारीपत्र गराई यो योजनालाई तत्काल अघि बढाइनेछ।
हाल लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधिहरू मात्र उत्पादन गर्दै आएको छ। अबको नयाँ योजनाअनुसार उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगका औषधिहरू समेत स्वदेशमै उत्पादन गरिने मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण र उत्पादन अनुमतिका प्राविधिक कामहरूलाई तीव्रता दिइनेछ।
मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ।
समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइनेछ।
यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवद्र्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढाउने विश्वास लिइएको छ।
साउन १, २०८३ शुक्रबार १९:१३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।