बिदा स्वीकृत नगरी ६० दिनभन्दा बढी समयदेखि गायब २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग, सेवाबाटै हटाउने चेतावनी
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गरेर नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेको छ।
ऐनको दफा ७४ को उपदफा (१) को खण्ड (ज) अनुसार बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहनु अनुशासन उल्लंघन मानिन्छ।
सूचनामा उल्लेख भएअनुसार १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेस नगरे उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ।
मन्त्रालयको अनुसार उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा कान्ति बाल अस्पताल महाराजगन्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू छन्।

असार ३२, २०८३ बिहीबार ०९:५९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।