दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दोहोरिए पुरानै उपकुलपति, रजिस्ट्रारमा चन्द नियुक्त

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दोहोरिए पुरानै उपकुलपति, रजिस्ट्रारमा चन्द नियुक्त

काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन्।

उनीहरूलाई बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले उपकुलपति र रजिस्ट्रारको नियुक्ति गरेको हो। 

डा. जोशी यसअघि पनि सो विश्वविद्यालयको उपकुलपति नै थिए। तर बालेन सरकारको अध्यादेशमार्फत बर्खास्तीमा परेका थिए। बालेन सरकारले पुन उनै प्रा.डा. जोशीले उपकुलपति उपकुलपति बनाएको छ।

सरकारले सबै नियुक्ति अध्यादेशबाट खारेज गराएर नियुक्तिका लागि दरखास्त आव्हान गर्दा रजिस्ट्रारको योग्यताबारे तोकिएको सर्त नै ऐन विपरीत देखिए पनि नसच्याई प्रक्रिया अगाडि बढाएर नियुक्त गरिएको हो। विश्वविद्यालयको रजिस्ट्रारका लागि विश्वविद्यालय ऐनको सर्त विपरीतको योग्यता राखिएकोबारे उकेराले खुलासा गरेको थियो।

सिफारिस समितिले उपकुलपति र रजिस्ट्रारका लागि सार्वजनिक सूचना जारी गरेको थियो। धनगढीमा रहेको यो विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारमा नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र आनन्द चन्दले पटक पटक चासो राख्दै आएको देखिएको छ।

खनाल सफाइ अभियान हुँदै रास्वपाबाट सांसद भएका हुन् भने चन्द निजी विद्यालय सञ्चालक हुँदै रास्वपाबाट सांसद भएका हुन्। चन्द एक्सन नेपाल भन्ने संस्थामा समेत आबद्ध छन्। चन्दले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिई पूरा अवधि काम नगरेर दुरुपयोग गरेको खुलेको थियो।

छानबिनमा कैलाली-५ बाट निर्वाचित सांसद चन्दले ४४ लाख ५६ हजार दुरुपयोग गरेको खुलेपछि उनले पैसा फिर्ता गरेका थिए।

असार ३२, २०८३ बिहीबार ०८:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।