बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु
एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एउटा चर्चित बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। सोमबार मध्यरातमा भएको यस दुर्घटनामा ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलको अवलोकन गर्दै मृतकको सङ्ख्या पुष्टि गरेका हुन्। ज्यान गुमाउनेमा १८ महिला र ९ पुरुष रहेका छन्।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केही व्यक्तिहरू अझै बेपत्ता रहेको बताइएको छ।
बैंककको चाटुचक जिल्लामा रहेको ‘रोङ बियर ना लात फाओ’ नामक बारमा आगलागी भएको हो।
बारमा साङ्गीतिक प्रस्तुति दिइरहेका एक कलाकारका अनुसार विद्युतको ‘कट-आउट’ स्विचबाट आगो सल्किएको थियो। त्यसपछि केही सेकेन्डभित्रै विस्फोटसहित आगोको मुस्लो फैलियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा मानिसहरू चिच्याउँदै आगोको ज्वालाबाट उम्किएर बाहिर भागिरहेको देखिन्छ। केही व्यक्तिको शरीरमा आगो सल्किएकै अवस्थामा बाहिर निस्किएका थिए।
प्रधानमन्त्री चर्नविराकुलका अनुसार धेरैजसो मानिसले धुवाँ र आगोबाट बच्न सुरक्षित ठाउँ ठानेर भवनको पछाडि रहेको शौचालयमा शरण लिएका थिए। तर, त्यहाँबाट निस्कने अर्को बाटो नहुँदा अधिकांशको शौचालयभित्रै निसास्सिएर र जलेर मृत्यु भएको पाइएको छ।
बैंककका गभर्नर चाटचार्ट सिट्टिपुन्टले बारभित्र सजावटका लागि प्रयोग गरिएका सामग्रीहरू सजिलै आगो समात्ने खालका भएकाले आगो छिटो फैलिएको बताए।
यस्तै, आपतकालीन निकास (फायर एक्जिट) को ढोका अगाडि पसलका सामानहरू राखिएका कारण मानिसहरूलाई बाहिर निस्कन कठिन भएको प्रारम्भिक रिपोर्टले देखाएको छ।
अहिले प्रहरी र फरेन्सिक टोलीले आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान गरिरहेका छन्। अग्नि नियन्त्रकहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।
असार २९, २०८३ सोमबार ०७:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।