काठमाडौं क्यान्सर सेन्टरमा 'कार्ट–टि सेल थेरापी' सुरु, उपचारमा ४५ लाख खर्च लाग्ने
काठमाडौं : भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरले क्यान्सर उपचारको क्षेत्रमा प्रभावकारी मानिएको ‘कार्ट–टि सेल थेरापी’ सुरु गर्ने भएको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सेन्टरले यस उपचार विधिका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तथा प्राविधिक तयारी पूरा भइसकेकाले बिरामी आउनासाथ तत्कालै सेवा सुरु गर्न सकिने जानकारी दिएको हो।
विश्वका करिब ३५ देशमा मात्र सीमित रहेको यो विशिष्ट प्रविधि नेपालमा भित्रिनुलाई क्यान्सर उपचारको क्षेत्रमा एउटा ठूलो ऐतिहासिक फड्को मानिएको छ। अस्पतालका अनुसार नेपालमा यो विधिबाट उपचार गराउन करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
चिकित्सकहरूका अनुसार यो एक आधुनिक इम्युनोथेरापी प्रणाली हो, जसले बिरामीकै रोगप्रतिरोधात्मक क्षमतालाई प्रयोग गरेर क्यान्सर निको पार्न मद्दत गर्छ। यस प्रक्रियामा बिरामीको शरीरबाट ‘टी–सेल्स’ भनिने प्रतिरोधात्मक कोषहरू निकाली प्रयोगशालामा परिमार्जन गरिन्छ र ती परिमार्जित सेलहरूलाई पुनः शरीरभित्र प्रवेश गराएपछि तिनीहरूले क्यान्सरका कोषहरूलाई आफैं पहिचान गरी नष्ट गर्ने काम गर्छन्। यो विधि विशेषगरी लिम्फोमा र ल्युकेमिया जस्ता जटिल रक्तजन्य क्यान्सरको उपचारमा अत्यन्तै लाभदायी हुने अपेक्षा गरिएको छ।
यसका साथै काठमाडौं क्यान्सर सेन्टरले बोन म्यारो ट्रान्सप्लान्ट समेत सुरु गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। रेडियोथेरापी सेवालाई थप सटिक, सुरक्षित र प्रभावकारी बनाउन अस्पतालले लिन्याक स्टेरियोटाटिक उपकरण समेत भित्र्याएको छ।
असार २८, २०८३ आइतबार १५:२६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।