अमेरिकाले फेरि गर्‍यो इरानमाथि हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्णरूपमा ठप्प

अमेरिकाले फेरि गर्‍यो इरानमाथि हवाई आक्रमण, हर्मुज जलमार्ग पूर्णरूपमा ठप्प

काठमाडौं : इरानले विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेलगत्तै अमेरिकाले यस हप्ता इरानमाथि तेस्रो चरणको हवाई आक्रमण सुरु गरेको घोषणा गरेको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार इरानी सेनाले साइप्रसको झण्डा अंकित जहाजमाथि मिसाइल प्रहार गरेपछि सैन्य कारबाही गरिएको हो। उक्त आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको र चालक दलका एक सदस्य बेपत्ता भएको अमेरिकी दाबी छ।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले भने उक्त जहाजले स्वीकृत मार्ग परिवर्तन गरी चेतावनीलाई बेवास्ता गरेकाले कारबाही गरिएको जनाएको छ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानको यस कदमको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरिसकेका छन्। ट्रम्पले यसअघि इरानले कुनै पनि सैन्य चुनौती दिएमा उसका सबै क्षेत्रहरू ध्वस्त पारिदिने कडा प्रतिक्रिया दिएका थिए।

गत फेब्रुअरी २८ मा अमेरिकी-इजरायली हवाई आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि लगत्तै यो तनाव चर्किएको हो। उनको अन्त्येष्टि पश्चात् खामेनीका छोरा तथा नयाँ सर्वोच्च नेता मोक्तबा खामेनीले एक लिखित सन्देश जारी गरेर आफ्ना बुबाको हत्याको बदला लिने चेतावनी दिएका थिए।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले बन्दर अब्बास, चाबहार र बुशेहर लगायतका विभिन्न सैन्य आधारहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको छ। इरानले पनि अर्को सूचना नभएसम्मका लागि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरिएको घोषणा गर्दै आफ्नो जलक्षेत्रमा प्रवेश गर्ने जुनसुकै जहाजमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

असार २८, २०८३ आइतबार ०८:३७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।