बुबा अलि खामेनीको हत्याको बदला लिएरै छाड्ने इरानी सर्वोच्च नेता मोक्तबाको चेतावनी

बुबा अलि खामेनीको हत्याको बदला लिएरै छाड्ने इरानी सर्वोच्च नेता मोक्तबाको चेतावनी

एजेन्सी : इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले आफ्ना बुबा एवं पूर्व सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको हत्याको बदला लिने चेतावनी दिएका छन्। अमेरिका र इजरायलद्वारा गरिएको आक्रमणमा अलि खामेनीको मृत्यु भएको थियो। 

पूर्व सर्वोच्च नेता आयतोल्लाहको हत्याको बदला राष्ट्रकै इच्छा भएको मोक्तबा खामेनीले उल्लेख गरेका छन्।

बुबाको अन्त्येष्टि पश्चात् सार्वजनिक गरिएको लिखित सन्देशमा मोक्तबाले भनेका छन्, “बदला लिने कुरा हाम्रो राष्ट्रको इच्छा हो र यसलाई अपरिहार्य रूपमा कार्यान्वयन गर्नुपर्छ।” इरानले आक्रमणका लागि लक्षित व्यक्तिहरूको सूचीसमेत तयार पारिसकेको उनले खुलासा गरेका छन्।

गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले गरेको ठूलो सैन्य हमलापछि यो युद्ध सुरु भएको थियो। सोही हमलामा अलि खामेनीको मृत्यु भएपछि मोक्तबाले नेतृत्व सम्हालेका हुन्। यद्यपि, युद्ध सुरु हुनुभन्दा अघिदेखि नै उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

उनले सन्देशमा भनेका छन्, “यो कुरा मेरो व्यक्तिगत अस्तित्व वा अन्य अधिकारीहरूको अस्तित्वमा निर्भर गर्दैन। हामी जिउँदो रहनेछौं वा छैनौं, यो घटना अवश्य हुनेछ।”

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्याको प्रयास भएमा इरानमाथि भीषण हमला गर्ने धम्की दिएका थिए। ट्रम्पले दुई पक्षबीचको युद्धविराम समाप्त भएको घोषणा गरेसँगै यसै हप्ता भएको हवाई आक्रमणले तनावलाई थप उत्कर्षमा पुर्याएको छ। यसले युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएका अन्तरिम सम्झौताहरूलाई समेत संकटमा पारेको छ।

दुई देशबीच बढ्दो तनावका बीच मध्यस्थकर्ताहरू भने कूटनीतिक संवाद बचाउन प्रयासरत छन्। इरानी सञ्चारमाध्यमका अनुसार कतारको एक प्रतिनिधिमण्डल शुक्रबार तेहरान पुगेको छ।

कुटनीतिक प्रयास जारी
दुवै देशले धम्की बढाउँदै गएका बेला मध्यस्थकर्ताहरू कूटनीति फर्काउन प्रयत्न गरिरहेका छन्। इरानको तस्निम समाचार एजेन्सीले शुक्रबार रिपोर्ट गरेको छ कि कतारी प्रतिनिधिमण्डल ‘मध्यस्थकर्ताको रूपमा कतारको भूमिका मजबुत बनाउन’ इरान भ्रमणमा गएको छ।

ट्रम्पले इरानसँगको वार्ता जारी रहने तर त्यसलाई ‘समयको दुरुपयोग’ भनेका छन्। यसबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले गत महिना दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि तेहरानले आफ्नो तर्फको प्रतिबद्धता पूरा गरेको दाबी गरेका छन्। 

“तेहरानले अहिलेसम्म आफ्नो वाचा कायम राखेको छ,” उनले भने, “वास्तविकताको जाँचः केवल पारस्परिक अनुपालन मात्र हुन सक्छ।”

हर्मुजमा अल्झन
समझदारी पत्रमा हस्ताक्षर भएपछि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरूले स्विट्जरल्यान्डमा एक चरणको प्रत्यक्ष वार्ता र कतारमा अप्रत्यक्ष वार्ता गरेका छन् तर त्यसपछि कुनै कूटनीतिक प्रगति देखिएको छैन।

अन्तिम सम्झौताको मुख्य बाधा हर्मुजको जलडमरुमध्यको भविष्य हो। युद्धका क्रममा इरानले अमेरिका-इजरायल हमलाको प्रतिकारमा यसलाई व्यावसायिक जहाज आवतजावतका लागि बन्द गरेको थियो।

यो जलमार्ग ऊर्जायुक्त खाडी देशहरूबाट तेल र ग्यास निर्यातको महत्वपूर्ण मार्ग हो र यसको बन्दले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ।

असार २८, २०८३ आइतबार ०८:०७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।