निर्वाह भत्ता बढाउनुपर्ने माग राख्दै माइतीघरमा इन्टर्न विद्यार्थीको प्रदर्शन

निर्वाह भत्ता बढाउनुपर्ने माग राख्दै माइतीघरमा इन्टर्न विद्यार्थीको प्रदर्शन

काठमाडौं : चिकित्सा शिक्षामा स्नातक तहको एमबिबिएस र बिडिएस कार्यक्रमको एक वर्षे इन्टर्नसिप गरिरहेका विद्यार्थीहरूले न्यायोचित निर्वाह भत्ता (स्टाइपेन्ड) पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

मासिक निर्वाह भत्ता स्नातकोत्तर (एमडी तथा एमएस) तहका आवासीय चिकित्सकलाई दिइने स्वास्थ्य सेवाको आठौं तहको सुरु तलब स्केलको आधा रकम दिनुपर्ने माग गर्दै शनिबार उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

करिब सय जना इन्टर्न विद्यार्थी भेला भएर प्रदर्शन गरिएको एमबिबिएस तथा बिडिएसका इन्टर्न स्टाइपेण्ड एकरूपता अभियानका संयोजक डिल्ली हरिजनले जानकारी दिए।

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा समेत अध्ययनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी आठौं तह सरह ४८ हजार सात सय बनाएर कार्यान्वयनमा समेत आइसकेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले ४८ हजार सात सय पूर्याउने निर्णय भएको थियो। यो व्यवस्थाअनुसार एमबिबिएस तथा बिडिएस इन्टर्न विद्यार्थीले माग गरेअनुसार निर्वाह भत्ता पाएको खण्डमा हालको अवस्थामा इन्टर्न विद्यार्थीले मासिक २४ हजार पाउन सक्छन्।

इन्टर्न विद्यार्थीको मासिक निर्वाह भत्ता सरकारीको तुलनामा निजी मेडिकल कलेजमा नै समस्या देखिएको छ। निजीमा दश हजारदेखि करिब १३ हजार मात्रै दिने गरेकाले अन्यायमा परेको भन्दै इन्टर्न विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन्।

असार २७, २०८३ शनिबार १६:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।