कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ६४८ पुग्यो, थप दुई प्रान्तमा फैलियो संक्रमण

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ६४८ पुग्यो, थप दुई प्रान्तमा फैलियो संक्रमण

एजेन्सी : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या ६४८ पुगेको छ। 

स्वास्थ्य अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कुल संक्रमितको संख्या एक हजार ८३० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमित र मृतकहरूको संख्या समेत यसमा समावेश गरिएको छ।

स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तरपूर्वमा सोपो र हाट–युलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तहरूको सूची विस्तार गरेको बताएका छन्। 

संक्रमितहरू छोपोको राजधानी एवं प्रमुख व्यापारिक केन्द्र किसंगानी र औत-उएलेको वाम्बा क्षेत्रतर्फ बसाइँ सरेको पाइएपछि स्वास्थ्य टोलीहरूलाई सतर्क गराइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अघि नै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्याङ्कले देएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिएको थियो। 

संक्रमण नियन्त्रणमा आउन नसक्नुको मुख्य कारण कन्ट्याक्ट ट्रेसिङ (संक्रमणको स्रोत पहिचान) हुन नसक्नुलाई मानिएको छ। डब्ल्यूएचओका अनुसार देशका कतिपय दुर्गम भागहरूमा भेटिएका प्रत्येक ५ नयाँ संक्रमितमध्ये ४ जनाको सम्बन्ध यसअघिका कुनै पनि पुराना संक्रमितहरूसँग जोडिएको छैन। यसले समुदायस्तरमै अज्ञात रूपमा इबोला फैलिरहेको पुष्टि गर्छ।

क्षेत्रीय असुरक्षा र विस्थापनका कारण तीव्र गतिमा फैलिरहेको यो महामारीलाई थप प्रान्तहरूमा जान नदिन सीमा नाका र चेकपोइन्टहरूमा निगरानी तथा स्वास्थ्य परीक्षण कडा पारिएको छ।

असार २७, २०८३ शनिबार १३:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।