मेरो हत्याको प्रयास भए इरान ध्वस्त पारिदिन्छु : ट्रम्प

मेरो हत्याको प्रयास भए इरान ध्वस्त पारिदिन्छु : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारलाई कडा चेतावनी दिँदै आफ्नो हत्याको प्रयास भएमा इरानमाथि भीषण हमला गर्ने धम्की दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट लेख्दै ट्रम्पले इरानतर्फ निशाना ताकेर हजारौं मिसाइलहरू तयारी अवस्थामा राखिएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘यदि इरानी प्रशासनले मेरो हत्या गर्ने कोसिस गर्यो भने इरानमाथि तुरुन्तै हजारौं मिसाइल प्रहार गरिनेछ।’

ट्रम्पले यसका लागि आवश्यक आदेश दिइसकिएको र अमेरिकी सेना जुनसुकै बेला प्रतिकार गर्न तयार रहेको बताएका छन्।

उनले थप चेतावनी दिँदै भनेका छन्, ‘अमेरिकी हमलाले इरानका सबै इलाकाहरूलाई एक वर्षसम्मका लागि पूर्ण रूपमा तहसनहस पारिदिन सक्छ र यो विनाशको प्रक्रिया अझै लामो समयसम्म चल्न सक्छ।’

इजरायली गुप्तचर एजेन्सीले इरानले ट्रम्पको हत्या गर्ने नयाँ षड्यन्त्र बुनिरहेको रिपोर्ट सार्वजनिक गरेपछि ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो। इजरायली दाबी अनुसार इरानले ट्रम्पलाई लक्षित गरी नयाँ योजनाहरू बनाइरहेको छ।

यद्यपि, इरानी अधिकारीहरूले भने ट्रम्पको हत्या गर्ने कुनै पनि योजना नरहेको भन्दै यस्ता आरोपहरूको खण्डन गर्दै आएका छन्। पछिल्लो समय अमेरिका र इरानबीचको सम्बन्ध झनै तनावपूर्ण बन्दै गएको छ।

असार २७, २०८३ शनिबार १२:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।