बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागू
बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको अत्यधिक चापलाई व्यवस्थित गर्न ‘ट्रयाज प्रणाली’ सुरु गरिएको छ।
यो प्रणाली लागू भएपछि अब अस्पतालको आकस्मिक कक्षमा आउने बिरामीले ‘पहिले आउनेले पहिले सेवा’ पाउने भन्दा पनि ‘बिरामीको गम्भीरता’ हेरेर उपचार पाउनेछन्।
सामान्य भाषामा बुझ्दा, यो प्रणालीले बिरामीको अवस्था कति खतरापूर्ण छ भन्ने कुरालाई वर्गीकरण गर्छ।
अस्पतालमा दैनिक २ हजारदेखि २५ सयसम्म बिरामी आउन थालेपछि उपचार सेवालाई छिटो र प्रभावकारी बनाउन यो विधि अपनाइएको हो।
कसरी हुन्छ त वर्गीकरण?
अस्पताल पुग्ने बित्तिकै स्वास्थ्यकर्मीले बिरामीको अवस्था जाँच गर्छन् र उनीहरूलाई तीनवटा रङमा विभाजन गर्छन्।
धेरै गम्भीर अवस्थाका बिरामी, जसलाई तत्काल उपचार नगरे ज्यान जान सक्छ। उनीहरूलाई पालो नकुराई सिधै आकस्मिक कक्षमा लगिन्छ।
मध्यम खालका बिरामी, जो गम्भीर त छन् तर केही मिनेट पर्खिँदा ज्यान जाने खतरा हुँदैन। यस्तै, सामान्य ज्वरो, सामान्य चोटपटक लागेका बिरामी, जसलाई केही समय पर्खाएर उपचार गर्दा पनि हुन्छ।
किन बढ्यो त अस्पतालमा भीड?
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. विष्णुप्रसाद गौतमका अनुसार सरकारले स्वास्थ्य बीमाको सुविधा निजी अस्पतालमा बन्द गरेपछि सरकारी अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको हो।
बीमा सुविधा लिने अधिकांश सर्वसाधारण अहिले लुम्बिनी प्रादेशिक अस्पतालमै निर्भर छन्।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद सेवालाई गुनासो रहित बनाउन यो प्रणालीले ठूलो मद्दत पुग्ने बताए।
उनका अनुसार बिरामीको चाप र अपेक्षा धेरै भए पनि उपलब्ध साधनको अधिकतम प्रयोग गरेर ज्यान जोगाउने कामलाई प्राथमिकता दिइएको छ।
यो नयाँ व्यवस्थासँगै अब गम्भीर बिरामीले पालो पर्खिएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास अस्पताल प्रशासनले लिएको छ।
असार २६, २०८३ शुक्रबार १०:३४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।