राहदानी विभाग अगाडि पेट्रोल छर्की आगो लगाएका नेपालीको अवस्था क्रिटिकल, शरीरको ६० प्रतिशत भाग जल्यो
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाहको प्रयास गरेका युवाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ।
मुगुको सोरु गाउँपालिका- १ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेकाले स्वास्थ्य अवस्था गम्भीर देखिएको हो।
वीर अस्पतालमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख प्लास्टिक सर्जन प्रा. डा. पियुस दाहालले बताएका हुन्। "उहाँको स्वास्थ्य अवस्था क्रिटिकल छ," उनले उकेरासँगको कुराकानीमा भने, "टाउको, छाती र हातजस्ता शरीरका अंग जलेका छन्।"
जलेर घाइते भएका उनी होसमा रहेपनि बोली भने सानो भएको उनले जानकारी दिए। तर, उनको स्वास्थ्य अवस्था बिस्तारै गम्भीर हुँदै जाने जोखिम रहेको डा. दाहालले बताए।
अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका नेपालीको प्राथमिक र आकस्मिक उपचारपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उनले बताए। जलनका कारण उनको श्वासप्रश्वासमा समेत समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।
बिहीबार साढे पाँच बजे उकेरासँगको कुराकानीमा डा. दाहालले आकस्मिक उपचारपछि वीर अस्पतालको ‘बर्न आइसियु’मा राखेर उपचार गर्ने तयारी रहेको जानकारी दिए। उनका अनुसार वीर अस्पतालमा नेपालीलाई उपचारका लागि करिब साढे तीन बजेतिर पुर्याइएको थियो।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग गेट अगाडि नेपालीले पार्किङ गरेको राखेको मोटरसाइकलमा प्रहरीले 'व्हिल लक' लगाइदिएको खुलेको थियो। प्रहरीले मोटरसाइकलमा व्हिल लक लगाइदिएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए।
असार २५, २०८३ बिहीबार १८:३८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।