खामेनीको अन्त्येष्टिमा हजारौं समर्थकको सहभागिता, मन्दिरहरूमा प्रार्थना
एजेन्सी : अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन बुधबार इराकको नजाफ र कर्बलामा हजारौंको संख्यामा समर्थकहरू सहभागी भएका छन्।
अत्यधिक भीडका कारण केही समय शवयात्रा अव्यवस्थित बनेपछि शव बोक्ने टोलीले कफिनलाई सुरक्षित राख्न भुइँनजिक झार्नुपरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो।
उनी युद्धका क्रममा मारिएका वरिष्ठ इरानी नेतामध्ये एक हुन्। उनको अन्त्येष्टिका कारण केही समय रोकिएको अमेरिका-इरान वार्ताबीच पछिल्ला दिनमा पुनः सैन्य तनाव चर्किएको छ। तेहरानले हर्मुज जलघाँटीमा तीन जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले बुधबार इरानमा आक्रमण गरेको थियो भने त्यसको जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ।
तेहरानमा शनिबारदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रमपछि खामेनीको पार्थिव शरीर इराक ल्याइएको हो। विश्वभरका शिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिने नजाफमा मङ्गलबार पार्थिव शरीर पुगेपछि हजारौं समर्थकले स्वागत गरेका थिए।
इरानी राष्ट्रपति मसुद पेजेस्कियान, विदेशमन्त्री अब्बास अराघची तथा अन्य वरिष्ठ अधिकारीले शवयात्रामा सहभागिता जनाउनुभएको थियो। इस्लामिक गणतन्त्रको झण्डाले ढाकिएको काँचको कफिनमा राखिएको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन समर्थकहरूको ठूलो भीड जुटेको थियो।
नजाफस्थित इमाम अलीको पवित्र मन्दिरमा वरिष्ठ धर्मगुरु मुहम्मद ताकी अल-हाकिमले अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरे। कफिन मन्दिरतर्फ लैजाँदा श्रद्धाञ्जलि अर्पण गर्न आतुर भीडले धक्का दिएपछि अवस्था केहीबेर नियन्त्रणबाहिर गएको थियो। कफिन ढल्न सक्ने अवस्था आएपछि शव बोक्ने टोलीले त्यसलाई तल झारेर सुरक्षित रूपमा अगाडि बढाएको थियो।
अन्त्येष्टिमा सहभागी जाफर जवादले खामेनीको पार्थिव शरीर नजाफ ल्याइनु इराकका लागि ठूलो सम्मान भएको बताउँदै उनीप्रति आफ्नो निष्ठा कायम रहने प्रतिक्रिया दिए। त्यसपछि पार्थिव शरीर कर्बला लगिएको थियो।
इमाम हुसेनको समाधिस्थल रहेको कर्बलामा पनि हजारौं समर्थक उपस्थित भएका थिए। इराकका प्रमुख शिया धर्मगुरुका प्रतिनिधि अब्दुल महदी अल-कारबालेईले त्यहाँ अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरे। यहाँ पनि श्रद्धाञ्जलि दिन भीड अत्यधिक भएपछि कफिन पटक-पटक हल्लिएको थियो। आयोजकहरूले स्थिति नियन्त्रणमा लिन कफिनलाई भुइँमा राखेर श्रद्धाञ्जलिको व्यवस्था मिलाएका थिए।
यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजताबा खामेनी अन्त्येष्टि कार्यक्रममा सहभागी भएका छैनन्। आफ्ना पिताको ज्यान गएको हवाई आक्रमणमा घाइते भएपछि उनी सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ।
असार २५, २०८३ बिहीबार १५:०४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।