ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरेपछि अमेरिका र इरानबीच भीषण आक्रमण जारी
एजेन्सी : अमेरिका र इरानबीच पुनः सुरू भएको सैन्य मुठभेडले मध्यपूर्वमा ठूलो युद्धको खतरा निम्त्याएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम ‘समाप्त’ भएको घोषणा गरेलगत्तै दुवै देशले लगातार दोस्रो दिन एकअर्काका सैन्य ठेगानाहरूमा भीषण आक्रमण गरेका छन्।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार अमेरिकी सेनाले इरानको तटीय क्षेत्रमा रहेका ९० वटा सामरिक लक्ष्यहरूमा शक्तिशाली प्रहार गरेको छ।
यसको बदलामा इरानको रिभोल्युसनरी गार्ड्सले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ।
राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै यदि हर्मुज जलसन्धिमा जहाजहरूमाथि आक्रमण गरिए अमेरिकी सैन्य कारबाही अझै कडा र भयावह हुने बताएका छन्। ट्रम्पले इरानसँगको यसअघिको युद्धविराम अब अस्तित्वमा नरहेको स्पष्ट पारेका छन्।
उता इरानका प्रमुख वार्ताकारले अमेरिकी धम्कीको कडा प्रतिवाद गर्दै कुनै पनि आक्रमणको सशक्त बदला लिने चेतावनी दिएका छन्। उनले हर्मुज जलसन्धि अमेरिकी धम्कीले नभई ‘इरानी व्यवस्थापन’ अनुसार मात्र खुल्ला रहने जिकिर गर्नुभयो। विश्वको तेल आपूर्तिका लागि यो जलसन्धि निकै महत्त्वपूर्ण मानिन्छ।
खामेनीको अन्त्येष्टि र उत्तराधिकारीको चर्चा
इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको म्याराथन अन्त्येष्टि कार्यक्रम आज समापन हुँदैछ।
अन्त्येष्टिको अन्तिम दिन सबैको ध्यान खामेनीका छोरा तथा सम्भावित उत्तराधिकारी मोज्ताबा खामेनीमाथि केन्द्रित छ। उनी आज सार्वजनिक रूपमा देखा पर्छन् वा पर्दैनन् भन्ने विषयलाई इरानको भावी राजनीतिक दिशासँग जोडेर हेरिएको छ।
अमेरिका र इरानबीचको यो बढ्दो सैन्य टकरावले विश्व बजारमा तेलको मूल्य र विश्वव्यापी सुरक्षामा गम्भीर असर पार्ने देखिएको छ।
असार २५, २०८३ बिहीबार ११:३८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।