हिमाली जिल्ला कालिकोटमा पनि देखिन थाले डेङ्गी, औलो र कालाजार
मान्म : तराई र पहाडी जिल्लामा मात्र सीमित मानिने लामखुट्टेजन्य रोगहरू पछिल्लो समय हिमाली जिल्ला कालिकोटमा पनि चुनौतीका रूपमा देखिन थालेका छन्।
कालिकोटका विभिन्न स्थानीय तहमा डेङ्गी, औलो र कालाजारका बिरामीहरू फेला पर्न थालेपछि स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगका कुल १९ जना बिरामी भेटिएका छन्।
तीमध्ये डेङ्गीका १०, कालाजारका ८ र औलोका १ जना रहेका छन्।
जिल्लाका ९ मध्ये ६ वटा स्थानीय तहमा यी रोगको सङ्क्रमण देखिएको छ। जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार खाँडाचक्र नगरपालिकामा डेङ्गीका ८ तथा पलाँता र नरहरिनाथ गाउँपालिकामा १-१ जना छन्।
यस्तै कालाजार हुनेमा खाँडाचक्र र पचालझरना गाउँपालिकामा २-२ जना, तथा रास्कोट, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा १-१ जना छन् भने औलोका बिरामी खाँडाचक्रमा २ जना छन्।
किन बढ्दैछ जोखिम?
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले गर्दा पहिले चिसो मानिने हिमाली क्षेत्रमा पनि अहिले लामखुट्टे बाँच्न र प्रजनन गर्न अनुकूल वातावरण बनेको छ।
‘बढ्दो सहरीकरण, सडक निर्माण र अव्यवस्थित बस्तीका कारण ठाउँ–ठाउँमा पानी जम्ने भएकाले लामखुट्टे हुर्कन सघाउ पुगेको छ,’ उनले भने, ‘विशेषगरी कर्णाली र तिला नदी किनारका बस्तीहरू बढी जोखिममा छन्।’
तराईका जिल्लाहरूसँगको बढ्दो आवतजावतले पनि सङ्क्रमण भित्र्याउन भूमिका खेलेको स्वास्थ्यकर्मीहरूको विश्लेषण छ।
सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थाहरूसँग मिलेर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ।
महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले जोखिमयुक्त क्षेत्रमा सचेतना फैलाउने, घर वरपरको पानी जम्ने ठाउँ सफा गर्ने र सुत्ने बेला अनिवार्य झुलको प्रयोग गर्न सुझाव दिने कार्य भइरहेको जानकारी दिए।
पछिल्लो समय हिमाली भेगमा देखिएको यो स्वास्थ्य चुनौतीले बदलिँदो मौसम र जनस्वास्थ्यबीचको गम्भीर सम्बन्धलाई पुनः पुष्टि गरेको छ।
असार २५, २०८३ बिहीबार १०:१८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।