पाकिस्तानी कार्गो विमान अरब सागरमा बेपत्ता
एजेन्सी : शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको ‘के २ एयरवेज’को बोइङ ७३७-४०० कार्गो विमान मंगलबार राति अरब सागरमा बेपत्ता भएको छ।
कराँचीभन्दा करिब ३०० किलोमिटर पश्चिममा रहेको समुद्रमा विमानको राडारसँगको सम्पर्क टुटेको हो।
पाकिस्तान एयरपोर्ट अथोरिटीका अनुसार विमानमा चालक दलका ५ जना सदस्य सवार थिए। विमानले राति ९:१८ बजे आफ्नो ‘नेभिगेसन’मा समस्या आएको जानकारी गराउँदै सहयोग मागेको थियो।
कराँची एयर ट्राफिक कन्ट्रोलले विमानलाई गाइड गरिरहेकै समयमा ९:२१ बजे राडारबाट विमान अचानक हराएको थियो।
फ्लाइट ट्र्याकिङ सेवा ‘फ्लाइटराडर’का अनुसार विमान राडारबाट हराउनुअघि निकै तीव्र गतिमा तल खसिरहेको र अचानक दिशा मोडिएको देखिएको थियो। अन्तिम तथ्याङ्क अनुसार विमान प्रति मिनेट २२ हजार ४०० फिटको तीव्र गतिमा तल खसिरहेको पाइएको छ।
उडेको केही समयपछि नै विमानको जीपीएस प्रणालीमा अवरोध आएको बताइएको छ। उक्त क्षेत्रमा अन्य विमानहरूले पनि यस्तै समस्या भोगेका थिए, जसका कारण दिशा पत्ता लगाउन कठिन भएको प्रारम्भिक अनुमान गरिएको छ।
बेपत्ता भएको विमान २५ वर्ष पुरानो हो। सन् १९९९ मा निर्माण भएको यो विमान सुरुमा यात्रुवाहक थियो। पछि सन् २०१२ मा यसलाई सामान ओसारपसार गर्ने ‘कार्गो’ विमानमा बदलिएको थियो।
के २ एयरवेजले यसलाई सन् २०२४ देखि मात्र प्रयोग गर्न थालेको थियो। के २ एयरवेज कराँचीमा आधारित एक निजी विमान कम्पनी हो।
विमान बेपत्ता भएलगत्तै समुद्रमा खोजी तथा उद्धार कार्य सुरु गरिएको छ। ‘ब्युरो अफ एयर सेफ्टी इन्भेस्टिगेशन’ले यस दुर्घटनाको कारणबारे अनुसन्धान गर्नेछ।
असार २४, २०८३ बुधबार १०:३७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।