इरानमा अमेरिकी हवाई आक्रमण, ‘निर्णायक कदम चाल्ने’ तेहरानको चेतावनी
एजेन्सी : अमेरिकाले इरानमाथि शक्तिशाली हवाई आक्रमण गरेको छ।
रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा तीनवटा व्यावसायिक तेल ट्याङ्करहरूमाथि आक्रमण भएपछि जवाफी कारबाहीमा हवाई आक्रमण गरेको उसको दाबी छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार मंगलबार इरानका ८० भन्दा बढी स्थानहरूलाई निशाना बनाइएको छ।
यसमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’का ६० भन्दा बढी साना सैन्य डुङ्गाहरू, मिसाइल प्रक्षेपण स्थलहरू र सैन्य कमान्ड सेन्टरहरू रहेका छन्।
इरानको चेतावनी र क्षति
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी हमला क्युसिम टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएका छन्, जहाँ बमका छर्राहरू लागेर केही सर्वसाधारण घाइते भएका छन्।
इरानका उपपरराष्ट्र मन्त्रीले यस अमेरिकी आक्रमणलाई गत महिना वासिङ्टन र तेहरानबीच भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताएका छन्।
उनले आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि तेहरानले ‘निर्णायक कदम चाल्ने’ चेतावनी दिएका छन्। इरानले तेल ट्याङ्करहरूमाथि भएका आक्रमणहरूमा आफ्नो संलग्नता भने अस्वीकार गरेको छ।
प्रतिबन्ध फुकुवा रद्द र कूटनीतिक दरार
यस सैन्य हमला हुनुअघि अमेरिकी वित्त मन्त्रालयले इरानमाथि अस्थायी रूपमा फुकुवा गरिएको तेल प्रतिबन्धको छुटलाई रद्द गरिदिएको थियो। यो छुट गत महिना दुई देशबीच भएको १४ बुँदे समझदारी पत्रको मुख्य हिस्सा थियो।
इरानको परराष्ट्र मन्त्रालयले अमेरिकाको यो कदम सम्झौताको उल्लंघन भएको र यसले अमेरिकी सरकारको ‘अविश्वसनीयता’ प्रमाणित गरेको बताएको छ।
कतार र साउदी अरबद्वारा इरानमाथि आरोप
कतार र साउदी अरबले हर्मुज जलडमरूमध्येमा आफ्ना तेल ट्याङ्करहरूमाथि आक्रमण भएको भन्दै इरानलाई पूर्ण रूपमा जिम्मेवार ठहराएका छन्।
कतारले आफ्नो ‘अल-रेकाय्याट’ र साउदीले ‘वाद्यान’ नामक ट्याङ्करमाथि लक्षित हमला भएको जनाएका छन्।
यद्यपि, इरानले यी आरोपहरूको खण्डन गरेको छ। इरानी प्रवक्ता इस्माइल बाघेईले कतारको यो आरोप छिमेकी राष्ट्रहरूसँगको असल सम्बन्धको सिद्धान्त विपरीत भएको बताए।
उनले बिना समन्वय इरानी जलक्षेत्र प्रयोग गर्ने वा ट्र्याकिङ प्रणाली बन्द गर्ने जहाजहरू आफैँ दुर्घटनाको जोखिममा पर्ने दाबी गरे।
समझदारी संकटमा
केही समयअघि मात्रै अमेरिका र इरानबीच युद्धविराम र सबै मोर्चामा तनाव कम गर्नका लागि १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
सम्झौता अन्तर्गत इरान र ओमानले यस महत्वपूर्ण जलमार्गको भावी व्यवस्थापनका लागि वार्ता गर्ने तय भएको थियो। तर, पछिल्लो सैन्य मुठभेड र तेल ट्याङ्करहरूमाथिको आक्रमणले यो कूटनीतिक प्रयासलाई संकटमा धकेलिदिएको छ।
असार २४, २०८३ बुधबार १०:११:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।