मापदण्ड मिच्ने र अनुमतिबिना सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्न पत्राचार

मापदण्ड मिच्ने र अनुमतिबिना सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्न पत्राचार

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले देशभर अनुमतिबिना सञ्चालनमा रहेका र तोकिएको मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाहरूलाई पहिचान गरी कानुनी कारबाही अघि बढाउन सम्बन्धित सरकारी निकायहरूलाई पत्राचार गरेको छ।

काउन्सिलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय (संघ), सातै प्रदेशका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा सबै स्थानीय तहलाई पत्र पठाउँदै आफ्नो कार्यक्षेत्रभित्र सक्रिय अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो।

देशभरका धेरै स्वास्थ्य संस्थाहरू सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको उजुरी, गुनासा र स्थलगत अनुगमनका क्रममा भेटिएकाले सक्रिय अनुगमन गरी कारबाही अघि बढाउन अनुरोध गरिएको छ। अनुमति प्राप्त केही संस्थाहरूमा समेत न्यूनतम भौतिक पूर्वाधार, उपकरण र दर्तावाल जनशक्तिको अभाव देखिएको उल्लेख छ।

काउन्सिलले दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाहरूको तत्काल पहिचान गरी बन्द गर्ने वा नियमानुसार कारबाही गर्न, सञ्चालन अनुमति प्राप्त भए पनि तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका संस्थाहरूलाई सुधारका लागि निर्देशित गर्न र सुधार नभएमा नियमानुसार कारबाही गर्न भनेको छ।

नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक समन्वय तथा प्राविधिक सहकार्यका लागि प्रतिबद्ध रहेको पत्रमा उल्लेख छ।

असार २३, २०८३ मंगलबार १६:१५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।