सेनाका पूर्वउपरथी डा. देवेन्द्र खत्री चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त
काठमाडौं : चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नेपाली सेनाका पूर्वउपरथी डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्। उपाध्यक्ष छनोट समितिले डा. खत्रीसहित डा. प्रमोद यादव र डा. श्रीकृष्ण गिरीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई सोमबार शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सह-अध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए।
त्यसपछि खाली रहेको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
चिकित्सा क्षेत्रमा लामो अनुभव संगालेका नवनियुक्त उपाध्यक्ष डा. खत्री वि.सं. २०७७ पुसमा नेपाली सेनाको प्राविधिकतर्फ उपरथीमा पदोन्नति भएका थिए। उनले सेनाको स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकका रूपमा महत्त्वपूर्ण विभागीय जिम्मेवारी सम्हालिसकेका छन्।
यसका साथै उनीसँग वीरेन्द्र सैनिक अस्पतालमा लामो समय वरिष्ठ चिकित्सक र मेडिसिन विभागको विभागीय प्रमुखका रूपमा समेत काम गरेको अनुभव छ।
असार २३, २०८३ मंगलबार १३:०४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।