पपस्टार काइलीबारे गरेको टिप्पणीपछि अष्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागे

पपस्टार काइलीबारे गरेको टिप्पणीपछि अष्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागे

क्यानबेरा - अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एक पोडकास्ट अन्तर्वार्ताका क्रममा पपस्टार काइली मिनोगको बारेमा गरेको टिप्पणीप्रति माफी मागेका छन्।

गत साता कमेडियन निक्की ओसबोर्नको ‘बुश डीप’ नामक पोडकास्टमा २० मिनेटको अन्तर्वार्ता दिँदा यो विवादित घटना भएको हो।

क्यानबेरास्थित प्रधानमन्त्रीको आधिकारिक निवासमै रेकर्ड गरिएको उक्त अन्तर्वार्तामा प्रस्तोता ओसबोर्नले प्रधानमन्त्रीलाई पपस्टार काइली मिनोग, अभिनेत्री निकोल किडम्यान र मनोरञ्जनकर्मी रोन्डा बर्चमोरमध्ये कोसँग ‘शारीरिक सम्बन्ध राख्ने, बिहे गर्ने वा डेट जाने’ भनी विवादास्पद प्रश्न सोधेकी थिइन्।

गत नोभेम्बरमा मात्र जोडी हेडनसँग विवाह गरेका प्रधानमन्त्री अल्बानीजले सुरुमा ‘मेरो भर्खरै बिहे भएको छ, मात्र ६ महिना भयो’ भन्दै प्रश्नबाट पन्छिन खोजेका थिए। तर प्रस्तोताले बारम्बार जोड दिएपछि उनले जवाफ दिए, ‘ओहो, स्पष्ट रूपमा काइली।’

प्रस्तोता ओसबोर्नले फेरि सोधिन्, ‘तपाईं काइलीसँग बिहे गर्नुहुन्छ, शारीरिक सम्बन्ध राख्नुहुन्छ र डेट पनि गर्नुहुन्छ त?’ यसको जवाफमा प्रधानमन्त्रीले भने, ‘माथिका सबैमध्ये उनी उत्कृष्ट छिन्।’

यो अन्तर्वार्ता सार्वजनिक भएलगत्तै अष्ट्रेलियाको राजनीतिमा ठूलो तरंग पैदा भएको छ। सांसद जाली स्टेगलले प्रधानमन्त्रीको टिप्पणीलाई ‘पूर्णतया अनुचित’ भन्दै प्रधानमन्त्रीले यस्ता लैङ्गिक विभेदपूर्ण कुरालाई अस्वीकार गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताइन्।

त्यसैगरी, विपक्षी दलकी सञ्चार मन्त्री सारा हेन्डरसनले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै यो टिप्पणी महिलाहरूप्रति अपमानजनक, अष्ट्रेलियालीहरूका लागि लाजमर्दो र प्रधानमन्त्री पदकै गरिमा घटाउने खालको भएको आरोप लगाएकी छन्।

चौतर्फी आलोचनापछि सोमबार बिहान एक लाइनको विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री अल्बानीजले भनेका छन्, ‘म ती टिप्पणीहरूका लागि बिनासर्त माफी चाहन्छु।’

हाल प्रशान्त क्षेत्रको भ्रमणमा रहेका प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्लेसले सरकारको बचाउ गरेका छन्।

उनले वर्तमान सरकार महिलाहरूको उत्थान र समानताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्मा महिला र पुरुषको संख्या बराबर रहेको दाबी गरे।

जापानी प्रधानमन्त्रीको विषयमा पनि विवादित इशारा
सोही अन्तर्वार्तामा विदेश भ्रमणका क्रममा पाएको उपहारको विषयमा कुरा हुँदा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उपहारस्वरूप दिएका दुईवटा खरबुजाको प्रसंग पनि विवादित बनेको छ।

प्रस्तोता ओसबोर्नले जापानी प्रधानमन्त्रीलाई हलिउड अभिनेत्री पामेला एन्डरसनसँग तुलना गर्दै द्वैअर्थी प्रश्न गर्दा प्रधानमन्त्री अल्बानीजले मुस्कुराउँदै आफ्नो छाती अगाडि हातले आपत्तिजनक इशारा गरेका थिए।

प्रस्तोता निक्की ओसबोर्न युट्युबमा अश्लील र छाडा कमेडीका लागि चिनिन्छिन्। उनले आफ्नो पोडकास्ट साइटमा आफूलाई ‘अरु कसैले सोध्न हिम्मत नगर्ने प्रश्न सोध्ने अनुचित पत्रकार’को रूपमा चिनाउने गरेकी छन्।

राष्ट्रको प्रमुख कार्यकारीले यस्तो स्तरको पोडकास्टमा गएर दिएको अभिव्यक्तिका कारण अष्ट्रेलियामा अहिले गम्भीर बहस सुरु भएको छ।

असार २२, २०८३ सोमबार १४:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।