फिलिपिन्समा पहिलो पटक उपराष्ट्रपतिविरुद्ध महाभियोग प्रस्तावमा सुनुवाइ, राजधानीमा सु्रक्षा संयन्त्र ‘हाइ अलर्ट’मा
एजेन्सी : फिलिपिन्सकी उपराष्ट्रपति सारा दुतेर्तेविरुद्धको ऐतिहासिक महाभियोग सुनुवाइ सिनेटमा जारी छ।
फिलिपिन्सको इतिहासमा कुनै पनि उपराष्ट्रपतिले महाभियोगको सामना गर्न लागेको यो पहिलो पटक हो। यस ऐतिहासिक घटनाले देशको राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ।
यदि सिनेटले उनलाई दोषी ठहर गरेमा, ४८ वर्षीया दुतेर्ते सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि अयोग्य हुनेछिन्। उनी आगामी निर्वाचनमा राष्ट्रपति पदका लागि प्रमुख दाबेदार मानिएकी छन्।
के हुन् आरोपहरू?
पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेकी छोरी सारा दुतेर्तेमाथि मुख्य रूपमा सरकारी कोषको दुरुपयोग गरेको र राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरलाई सार्वजनिक रूपमा ज्यान मार्ने धम्की दिएको आरोप छ।

सन् २०२२ मा सारा दुतेर्ते र फर्निनान्ड मार्कोसले मिलेर चुनाव जितेका थिए। तर, पछि उनीहरूबीचको सम्बन्ध बिग्रिएर तीव्र राजनीतिक सत्रुतामा परिणत भयो।
गत नोभेम्बरमा एक लाइभ भिडियोमा दुतेर्तेले ‘यदि म मारिएँ भने, राष्ट्रपति मार्कोसलाई मारिदिनु’ भनेकी थिइन्। त्यसपछि उनीविरुद्ध महाभियोगको उजुरी दर्ता गरिएको थियो।
दुतेर्तेले यी आरोपहरूलाई राजनीतिक प्रतिशोध र उत्पीडन भन्दै अस्वीकार गरेकी छन्।
सुनुवाइअघि मुख्य सहयोगी पक्राउ
महाभियोगको सुनुवाइ सुरु हुनुभन्दा केही घण्टाअघि मात्र दुतेर्तेका मुख्य सहयोगी एवं सिनेटर रोडान्टे मार्कोलेटालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई चुनाव प्रचारका लागि पाएको ७ करोड ५० लाख पेसो (करिब १२ लाख अमेरिकी डलर) चन्दा लुकाएको आरोप लागेको छ।

मार्कोलेटाको गिरफ्तारीले २४ सदस्यीय सिनेट (जसले अदालतको रूपमा काम गर्नेछ) मा दुतेर्तेको पक्षमा रहने समर्थन कमजोर हुनसक्ने अनुमान गरिएको छ।
सडकमा प्रदर्शन र उच्च सुरक्षा
मार्कोलेटाको गिरफ्तारीको विरोधमा फिलिपिन्सको एक शक्तिशाली धार्मिक समूह ‘इग्लेसिया नी क्रिस्टो’का हजारौँ सदस्यहरूले मनिलाका सडकहरूमा प्रदर्शन गरिरहेका छन्, जसले गर्दा राजधानीको ट्राफिक अस्तव्यस्त बनेको छ।
यो समूहले पहिले मार्कोस र दुतेर्ते दुवैलाई समर्थन गरेको थियो, तर अहिले उनीहरू दुतेर्तेको पक्षमा उभिएका छन्।
सिनेट बाहिर कुनै पनि अप्रिय घटना हुन नदिन तीन हजारभन्दा बढी प्रहरी र दङ्गा नियन्त्रक टोली परिचालन गरिएको छ। सिनेट वरपरका धेरै सडकहरू बन्द गरिएका छन् भने सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
असार २२, २०८३ सोमबार ११:१४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।