रुस-युक्रेन युद्ध : २४ घण्टामा दोहोरो ड्रोन र मिसाइल आक्रमण
एजेन्सी : रुस र युक्रेनबीचको युद्धमा पछिल्लो २४ घण्टामा दुवै पक्षले एकअर्काका सैन्य संरचना र रणनीतिक पूर्वाधारमाथि व्यापक ड्रोन तथा मिसाइल आक्रमण गरेका छन्।
रुसी सेनाले खार्किभ क्षेत्रका थप चार बस्ती आफ्नो नियन्त्रणमा लिएको दाबी गरिरहँदा युक्रेनी सेनाले आजोभ सागरको आकाशमा रुसी सैन्य हेलिकोप्टर र लुहान्स्कस्थित रेल पुललाई निशाना बनाएको जनाएको छ।
रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले युक्रेनको इन्धन, ऊर्जा तथा यातायात पूर्वाधारका साथै ड्रोन उत्पादन र भण्डारण केन्द्रसहित १४२ स्थानमा आक्रमण गरेको छ। मन्त्रालयले युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूको अस्थायी तैनाथी स्थलहरूलाई समेत लक्षित गरिएको जनाएको छ।
यता, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म २६८ पटक युद्ध भिडन्त भएको जनाएको छ। युक्रेनी सेनाले रुसका तीन वटा कमाण्ड पोस्ट र पाँच वटा ड्रोन नियन्त्रण केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ। युक्रेनी पक्षका अनुसार रुसद्वारा प्रहार गरिएका दुई वटा मिसाइल र १७ वटा ड्रोनलाई निस्तेज पारिएको छ।
युक्रेनी रक्षा बलले शनिबार बिहान सबेरै आजोभ सागरको आकाशमा रहेको एउटा रुसी सैन्य हेलिकोप्टरलाई निशाना बनाएको तथा लुहान्स्क क्षेत्रमा सिभेस्र्की दोनेत्स नदीमाथिको रेल पुलमा पनि आक्रमण गरेको जनरल स्टाफले जनाएको छ।
असार २१, २०८३ आइतबार ११:१२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।