चिनियाँ इन्टरनेट प्रयोगकर्ता रिसाउँदा ‘सिए ना’को कन्सर्ट नै रद्द!
एजेन्सी : चीनकी चर्चित टेलिभिजन प्रस्तोता सिए नाले हालै आफ्नो देशव्यापी साङ्गीतिक कन्सर्ट यात्रा सुरू गर्न खोज्दा ठूलो असफलता र आक्रोशको सामना गर्नु परेको छ।
उनको गायन कलामाथि सामाजिक सञ्जालमा प्रश्न उठेपछि र सरकारी सञ्चारमाध्यमले समेत आलोचना गरेपछि बेइजिङमा तय भएको उनको पहिलो कन्सर्ट रद्द गरिएको छ।
सिए ना विगत दुई दशकदेखि चीनको अत्यधिक लोकप्रिय टेलिभिजन कार्यक्रम ‘ह्याप्पी क्याम्प’मार्फत स्थापित नाम हुन्। आफ्नो ठट्टा गर्ने शैली र हँसिमजाकपूर्ण प्रस्तुतिले गर्दा उनी चीनकी शीर्ष टेलिभिजन व्यक्तित्वका रूपमा चिनिन्छिन्।
लामो समयदेखि उनको एउटा सपना थियो- गायिका बन्ने। यसै वर्षको अप्रिलमा उनले सामाजिक सञ्जाल ‘वेइबो’ मार्फत आफ्नो पहिलो साङ्गीतिक कन्सर्ट घोषणा गरिन्।
चेङ्दु सहरमा आयोजना गरिएका उनका सुरुवाती कन्सर्टका हजारौं टिकटहरू तत्कालै बिक्री भए। फ्यानहरूले कन्सर्टलाई निकै रुचाए पनि र सिए नाका सेलिब्रेटी साथीहरूले पनि उनलाई साथ दिए।
चेङ्दुको सफलतापछि सिए नाको आत्मविश्वास निकै बढ्यो। उनले एक लाइभ स्ट्रिमिङमा आफू ‘पप क्वीन’ बन्नसक्ने दाबी गर्दै देशव्यापी कन्सर्ट यात्रा गर्ने घोषणा गरिन्, जसको पहिलो गन्तव्य बेइजिङ थियो।
तर, यस घोषणासँगै जनमत उनको विपक्षमा उभियो।
धेरैले उनको कमजोर गायन क्षमतामाथि प्रश्न उठाए भने कतिपयले उनीमाथि आफ्ना नाम चलेका साथीहरूको लोकप्रियता प्रयोग गरेर पैसा कमाउन खोजेको आरोप लगाए। कतिपयले त कन्सर्ट रोक्नका लागि आधिकारिक निकायमा उजुरीसमेत दर्ता गराए।
सरकारी सञ्चारमाध्यमको कडा टिप्पणी
यो विवाद केवल सामाजिक सञ्जालमा मात्र सीमित रहेन, सरकारी सञ्चारमाध्यमहरूले पनि सिए नामाथि कडा प्रहार गरे।
सरकारी मुखपत्र ‘पिपल्स डेली’ले नाम उल्लेख नगरी लेख्यो- ‘वास्तविक क्षमता बिना नै चर्चा कमाएकाहरू अन्ततः समस्यामा पर्छन्।’
त्यस्तै, अर्को चिनियाँ सरकारी लेखमा उनलाई सपना पूरा गर्ने बहानामा केवल नाफा कमाउन हिँडेको र यसले सांस्कृतिक स्तर गिराएको आरोप लगाइयो।
अन्ततः तीव्र दबाबका कारण आयोजकले बेइजिङको कन्सर्ट रद्द गर्दै टिकटको पैसा फिर्ता गर्ने घोषणा गर्यो।
युवाहरूको आर्थिक कुण्ठा र सेलिब्रेटी निसाना
विश्लेषकहरूका अनुसार यो आक्रोश केवल सिए नाको गायन क्षमतासँग मात्र सम्बन्धित छैन, बरु यो चिनियाँ युवाहरूमा बढ्दो आर्थिक निराशाको उपज हो।
महामारीपछि चीनमा युवा बेरोजगारी उच्च छ र आर्थिक मन्दीका कारण युवाहरू ठुलो वित्तीय दबाबमा छन्।
यस्तो अवस्थामा सेलिब्रेटीहरूले सजिलैसँग ठूलो रकम कमाएको देख्दा उनीहरूमा आक्रोश पैदा भएको अस्ट्रेलियाको डीकिन विश्वविद्यालयका सह-प्राध्यापक डा. जियान सु बताउँछन्।
चीनमा राजनीतिक रूपमा संवेदनशील विषयमा टिप्पणी गर्न जोखिमपूर्ण हुने भएकाले युवाहरूले सेलिब्रेटीहरूलाई आफ्नो आक्रोश पोख्ने ‘सुरक्षित माध्यम’ बनाएका छन्।
‘क्यान्सिल कल्चर’ माथि प्रश्न
यद्यपि, यो घटनालाई लिएर चिनियाँ सामाजिक सञ्जालमा बहस पनि सुरू भएको छ।
कतिपय प्रयोगकर्ताहरूले मन नपरे कन्सर्टमा नगए पुग्ने तर यसरी व्यक्तिगत रूपमा अपमान गर्नु र दबाब दिएर कन्सर्ट नै रद्द गराउनु गलत भएको तर्क गरेका छन्।
सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि उनको गायन खराब छ भने बजारले नै त्यसको निर्णय गरोस्, यसरी व्यक्तिगत रूपमा अपमानित गरिनु हुँदैन।’
असार २०, २०८३ शनिबार १०:१८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।