औषधि व्यवस्था विभागको ६ बुँदे निर्देशन : लिखित सम्झौताबिना औषधि आपूर्ति गर्न निषेध, बिक्रेताको सूची वेबसाइटमा राख्नुपर्ने

औषधि व्यवस्था विभागको ६ बुँदे निर्देशन : लिखित सम्झौताबिना औषधि आपूर्ति गर्न निषेध, बिक्रेताको सूची वेबसाइटमा राख्नुपर्ने

काठमाडौं : औषधि व्यवस्था विभागले मुलुकको औषधि आपूर्ति शृङ्खलालाई व्यवस्थित र पारदर्शी बनाउन उत्पादक, पैठारीकर्ता र थोक तथा खुद्रा बिक्रेताहरूका लागि ६ बुँदे निर्देशन जारी गरेको छ।

विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार अबदेखि सबै स्वदेशी उत्पादक तथा पैठारीकर्ताले आधिकारिक थोक बिक्रेतासँग अनिवार्य लिखित सम्झौता गर्नुपर्नेछ।

लिखित सम्झौताबिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ।

यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेताको अद्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइट प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्ने छ।

थोक बिक्रेताले औषधि व्यवस्था विभागमा दर्ता भएका खुद्रा औषधि पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री वितरण गर्नुपर्ने छ। सबै खुद्रा बिक्रेताले उत्पादक वा औषधि पैठारीकर्ताद्वारा अधिकृत थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने निर्देशनमा भनिएको छ।

यस्तै अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरिदमा प्रयोग हुने औषधिको प्याकेजिङ लेवलिङ्मा ‘संस्थागत आपूर्ति मात्र’ भनेर स्पष्ट रूपमा उल्लेख हुनुपर्दछ। यस्ता औषधि खुद्रा बिक्रीका लागि प्रयोग गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०८३/८४ देखि थोक बिक्रेताले औषधि बिक्री वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक पैठारीकर्ता भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ। 

असार १९, २०८३ शुक्रबार १४:५५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।