कालीमाटी बजारमा रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

कालीमाटी बजारमा रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं : काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा अत्यधिक मात्रामा विषादी फेला परेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते गरेको परीक्षणमा उक्त साग मानव स्वास्थ्यका लागि हानिकारक र खान अयोग्य ठहरिएको हो।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाकी किसान सीता रेग्मीको खेतबाट कालीमाटी ल्याइएको रायोको सागमा 'अर्गानोफस्फेट' समूहको विषादी ८०.०१६० प्रतिशत फेला परेको थियो। मापदण्डभन्दा तेब्बर बढी विषादी भेटिएपछि प्रयोगशालाले उक्त सागलाई 'विसर्जन गर्ने' श्रेणीमा राख्दै तत्काल नष्ट गर्न निर्देशन दिएको छ।

प्रयोगशालाले बजारमा भित्रिएका कुल १२ वटा तरकारीका नमुनाहरूको विषादी परीक्षण गरेको थियो। परीक्षण गरिएका नमुनामा रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा लगायतका तरकारी समावेश थिए।

परीक्षणमा बाँकी ११ वटा नमुना भने उपभोगका लागि सुरक्षित सीमा भित्र रहेको प्रयोगशालाले जनाएको छ। ती नमुनामा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा कम रहेकाले बजारमा बिक्री तथा उपभोगका लागि उपयुक्त ठहर गरिएको छ।

प्रयोगशालाले विषादीको अवशेषका आधारमा तरकारीलाई तीन वर्गमा वर्गीकरण गर्ने गरेको छ। ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोग योग्य मानिन्छन्। ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ।

४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा भने त्यस्ता तरकारी विसर्जन गरी नष्ट गर्नुपर्ने व्यवस्था रहेको छ।

असार १६, २०८३ मंगलबार १३:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।