भेनेजुएला भूकम्प : भग्नावशेषबाट चार दिनपछि बाबु-छोराको जीवितै उद्धार
एजेन्सी : भेनेजुएलामा गएको विनाशकारी भूकम्पको चार दिनपछि आइतबार एक भत्किएको भवनको भग्नावशेषबाट एक बुबा र उनका छोरालाई जीवितै उद्धार गरिएको छ।
यो सफलतासँगै उक्त क्षेत्रमा खोजी कार्यमा जुटेका फ्रान्सेली र अमेरिकी उद्धार टोलीहरूले अभियानलाई थप तीव्रता दिएका छन्। यस घटनाले उक्त क्षेत्रमा खटिएका फ्रान्सेली र अमेरिकी उद्धारकर्मीहरूमा आशा जगाएको छ।
ला गुइराको क्षतिग्रस्त सडकमा जम्मा भएको भीडका बीच, उद्धारकर्मीहरूले मास्क लगाएका र शारीरिक रूपमा अत्यन्तै कमजोर देखिएका ती बाबु-छोरालाई अस्थायी स्ट्रेचरमा राखेर एम्बुलेन्ससम्म पुर्याएका थिए। गत बुधबार गएको भूकम्पका कारण यो तटीय राज्य सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ हालसम्म कम्तीमा एक हजार चार सय ५० जनाको मृत्यु भइसकेको छ भने हजारौँ नागरिक अझै बेपत्ता छन्।
उद्धार टोलीले विशेष सर्च क्यामेराको प्रयोग गरी भग्नावशेषभित्र करिब १२ घण्टासम्म निरन्तर खोजतलास गरेपछि उनीहरूलाई फेला पारेको हो।
फ्रान्सेली नागरिक सुरक्षाका एक अधिकारीका अनुसार चार दिनसम्म भग्नावशेषमुनि पुरिएका कारण उनीहरूको अवस्था गम्भीर छ। उद्धार प्रक्रिया जारी रहँदा नै उनीहरूलाई सलाइन र आवश्यक औषधिहरू उपलब्ध गराइएको थियो।
यस क्षेत्रको उद्धार टोलीमा फ्रान्सेली नागरिक सुरक्षाका सदस्यहरू र अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टी अर्बन सर्च एन्ड रेस्क्यु टोलीका उद्धारकर्मीहरू संयुक्त रूपमा परिचालित छन्। यसै टोलीले शनिबार मात्रै एक आमा र ९ महिनाको शिशुको पनि जीवितै उद्धार गरेको थियो।
भग्नावशेष बाहिर रहेका अन्य उद्धारकर्मीहरूले भित्र खटिएका टोलीसँग निरन्तर समन्वय गर्दै थप जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्।
यो साताको अन्त्यसम्ममा कम्तीमा ३३ जनालाई जीवितै उद्धार गरिएको छ। यद्यपि, अझै दशौँ हजार मानिसहरू बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार भूकम्प गएको ७२ घण्टापछि भग्नावशेषमुनि मानिस जीवितै भेटिने सम्भावना न्यून हुन्छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार कार्य जारी रहने बताउँदै भवनहरूको अवस्था जाँच गर्न एक राष्ट्रपतीय आयोग गठन गरिएको जानकारी दिएका छन्। रोड्रिगेजका अनुसार प्रभावित क्षेत्रमा विद्यालयहरू थप एक हप्ताका लागि बन्द गरिएको छ भने ला गुइरामा ७५ प्रतिशत विद्युत आपूर्ति सुचारु भइसकेको छ।
नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या १,४५० पुगेको छ। यस विपद्मा परी तीन हजार १५० घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्। भूकम्पमा परी ७७४ वटा भवन भत्किएका छन्।
अहिलेको समय जीवित रहेकाहरूको उद्धार गर्ने र घरबारविहीन भएकाहरूका लागि आश्रयस्थल (क्याम्प) बनाउने निकै संवेदनशील समय भएको सरकारले जनाएको छ।
सरकारले सयौँ मानिस बेपत्ता भएको बताए पनि विपक्षी दलहरूद्वारा प्रवर्द्धन गरिएको एक वेबसाइटका अनुसार अझै झण्डै ५०,००० मानिसहरू हराइरहेको सूचीमा छन्। सयौँ परकम्पहरू गइरहेका कारण स्थानीय बासिन्दाहरू अझै त्रसित छन् र उद्धार कार्यमा पर्याप्त उपकरण नभएको भन्दै कतिपय ठाउँमा असन्तुष्टि समेत बढेको छ।
असार १५, २०८३ सोमबार १४:२७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।