युरोपमा 'हिट वेभ'का कारण १३ सयभन्दा बढीको मृत्यु, जर्मनी र पोल्याण्डमा तापक्रमको नयाँ रेकर्ड
एजेन्सी : युरोपमा अत्यधिक गर्मी (हिटवेभ) का कारण १३ सयभन्दा बढी मानिसको ज्यान गएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससका अनुसार गत जुन २१ यता मात्रै युरोपमा उच्च तापक्रमका कारण १३ सयभन्दा बढीको मृत्यु दर्ता भइसकेको छ।
फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ मात्रै सामान्यभन्दा करिब १ हजार बढी मानिसको मृत्यु भइसकेको छ, जसमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या उच्च छ। फ्रान्समा घरमै मृत्यु हुनेहरूको संख्यामा ४० प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ।
यसैबीच, गर्मीबाट बच्न नदी, पोखरी र तालहरूमा पौडी खेल्ने क्रममा फ्रान्समा मात्रै कम्तीमा ७४ जनाको डुबेर मृत्यु भएको गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।
डब्लुएचओका प्रमुख टेड्रोसले सामाजिक सञ्जाल एक्समा लेख्दै 'हिट स्ट्रेस' (अत्यधिक गर्मीका कारण शरीरमा पर्ने तनाव) लाई 'साइलेन्ट किलर' को संज्ञा दिएका छन्। उनले युरोपेली देशका घर, कार्यस्थल र विद्यालयहरू यस्तो अत्यधिक तापक्रम खप्न सक्ने गरी नबनेको उल्लेख गरे।
"युरोप विश्वको औसतभन्दा दोब्बर गतिमा तातिरहेको छ," टेड्रोसले चेतावनी दिँदै भने, "जलवायु परिवर्तनका कारण पहिले एक पुस्तामा एक पटक आउने भनिएको यस्तो गर्मी अहिले हरेक वर्ष देखिन थालेको छ।"
इतिहासकै उच्च तापक्रम
गर्मी दक्षिण-पश्चिमी युरोपबाट पूर्वतर्फ सर्ने क्रममा जर्मनी, पोल्याण्ड र चेक गणतन्त्र लगायतका देशहरूमा तापक्रमका नयाँ रेकर्ड कायम भएका छन्।
आइतबार इतिहासकै सबैभन्दा तातो दिन रेकर्ड गर्दै पूर्वी जर्मनीको कोस्चेनमा तापक्रम ४१.७ डिग्री सेल्सियस पुगेको छ। यस्तै चेक गणतन्त्रको डोकसानी क्षेत्रमा तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको छ।
पोल्याण्डको स्ल्युबिस सहरमा तापक्रम ४०.५ डिग्री सेल्सियस पुगेर नयाँ राष्ट्रिय रेकर्ड कायम भएको छ।
'हिट डोम' को असर र कडा प्रतिबन्ध
मौसमविद्हरूका अनुसार यो भयानक गर्मीको मुख्य कारण 'हिट डोम' प्रभाव हो। यस मौसमी प्रणालीमा वायुमण्डलको तातो हावा तलतिर थिचिन्छ, जसले गर्दा जमिननजिकको हावा थप संकुचित र तातो बन्न पुग्छ। यसले आकाशमा बादल बन्न दिँदैन र सिधा पर्ने कडा घामले जमिनलाई भट्टीजस्तै तताउँछ।
भीषण गर्मीका कारण युरोपका कयौँ देशहरूमा विद्यालयहरू बन्द गरिएका छन् भने विद्युत ग्रिडहरूमा समस्या आएको छ।
नेदरल्याण्ड्सको प्रख्यात 'डेफकन.१' संगीत महोत्सव इतिहासमै पहिलो पटक 'कोड रेड' चेतावनीका कारण रद्द गरिएको छ। फ्रान्सको पेरिसमा आपत्कालीन सेवाहरूलाई सहज बनाउन सार्वजनिक स्थलमा मदिरा पिएर हिँड्न प्रतिबन्ध लगाउनुका साथै 'प्राइड मार्च' समेत स्थगित गरिएको थियो।
डब्लुएचओले जलवायु परिवर्तनको यो गम्भीर चुनौतीसँग जुध्न सबै युरोपेली देशहरूलाई तत्काल 'हिट हेल्थ एक्सन प्लान' (गर्मीजन्य स्वास्थ्य कार्ययोजना) लागू गर्न आग्रह गरेको छ।
असार १५, २०८३ सोमबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।