‘भग्नावशेषबाट मानिसहरू कराएको आवाज आइरहेका छन्, तर निकाल्न सकिएको छैन’
एजेन्सी : भेनेजुएलामा बुधबार लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा हालसम्म कम्तीमा १४ सय ३० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने संयुक्त राष्ट्र संघका अनुसार झण्डै ५० हजार मानिसहरू बेपत्ता छन्।
भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.२ र ७.५ मापन गरिएको छ। ७.५ म्याग्निच्युडको यो भूकम्प भेनेजुएलामा विगत एक शताब्दीमै रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो।
राजधानी काराकाससँग जोडिएको तटीय राज्य ला गुइरा भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ सयौं भवनहरू भत्किएका छन् र तिनको भग्नावशेषमुनि हजारौं नागरिक पुरिएको आशंका गरिएको छ।
भग्नावशेषमा पुरिएकाहरूलाई जीवितै उद्धार गर्न स्थानीय बासिन्दा र उद्धारकर्मीहरू संघर्ष गरिरहेका छन्। मानवीय सहायता एजेन्सीहरूका अनुसार भूकम्प गएको पहिलो ४८ देखि ७२ घण्टाभित्रको समय जीवितै उद्धारका लागि निकै महत्त्वपूर्ण मानिन्छ।
भेनेजुएलामा राष्ट्रिय उद्धार टोलीको अभाव देखिए पनि मेक्सिको, स्पेन, अमेरिका, बेलायत, कोलम्बिया र स्विट्जरल्याण्ड लगायतका देशहरूबाट अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू त्यहाँ पुगेका छन्।
हालसम्म विभिन्न देशका ८६० भन्दा बढी स्वयंसेवकहरू उद्धार कार्यमा जुटिसकेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले जीवित मानिसहरूको उद्धारका लागि सरकारले सबै शक्ति परिचालन गरेको बताएकी छिन्।
भग्नावशेषमुनि पुरिएका आफ्ना आफन्तहरूलाई बचाउन मानिसहरू खाली हात र साबेलको सहाराले ढुङ्गा-माटो पन्छाइरहेका छन्। भारी मेसिनरी उपकरणको अभावका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण र ढिलो भएको छ।
जेसुस सुआरेज नामका एक पिता आफ्ना छोरा जीन सुआरेजको खोजीमा २०० किलोमिटर यात्रा गरेर ला गुइरा आइपुगेका छन्। उनले भने, ‘यहाँ कुनै अत्याधुनिक उपकरण छैन। मानिसले एक्लै भग्नावशेष पन्छाउन असम्भव र निकै खतरनाक छ।’
भग्नावशेषमुनि पुरिएका ३१ वर्षीय कार्लोस एडुआर्डोका आफन्तहरू उनले बेलाबेलामा कराएको आवाज सुन्छन्, तर उपकरणको अभावमा उनलाई बाहिर निकाल्न सकिएको छैन।
सेना र मेक्सिकन स्वयंसेवकहरूले भग्नावशेषमुनिबाट आउने आवाज सुन्नका लागि भीडलाई शान्त रहन बारम्बार आग्रह गरिरहेका छन्। कतिपय मानिसहरूले ड्रोनको सहायताले कठिन ठाउँहरूमा जीवनको संकेत खोज्ने प्रयास गरिरहेका छन्।
समय बित्दै जाँदा मृतकहरूको संख्या बढिरहेको छ र भग्नावशेषमुनि रहेका शवहरू कुहिन थालेपछि दुर्गन्ध फैलिन थालेको छ। स्थानीय बासिन्दाहरूले दुर्गन्धका कारण बालबालिका र आफूहरू बिरामी पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
भूकम्पका कारण घरबारविहीन भएका धेरै परिवारहरू खुला आकाश, पार्क र विमानस्थलको पार्किङ एरियामा गाडीभित्र रात बिताउन बाध्य छन्।
असार १४, २०८३ आइतबार १०:३४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।