कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य स्थानमा इरानी आक्रमण, ट्रम्पले फेरि दिए इरानी अस्तित्व मेटाइदिने चेतावनी

कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य स्थानमा इरानी आक्रमण, ट्रम्पले फेरि दिए इरानी अस्तित्व मेटाइदिने चेतावनी

एजेन्सी : इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानको अस्तित्व नै मेटाइदिने कडा चेतावनी दिएका छन्।

बीबीसी फारसी सेवाका अनुसार इरानको आईआरजीसीले आइतबार बिहान कुवेतको ‘अली अल-सलेम एयरबेस’ र बहराइनमा रहेको अमेरिकी पाँचौं नौसेना बेडा (पाँचौं फ्लीट)को मुख्यालयसँग सम्बन्धित आठवटा ठेगानाहरूलाई निशाना बनाएको जनाएको छ।

आईआरजीसीका अनुसार यो संयुक्त सैन्य कारबाही अन्तर्गत ब्यालिस्टिक मिसाइल र ड्रोनहरू प्रहार गरिएको थियो।

इरानले यो आक्रमण हालै अमेरिकाले गरेको हमलाको जवाफमा गरिएको दाबी गरेको छ। अमेरिकी अधिकारीहरूले भने हालसम्म यस हमलाबाट भएको क्षति वा मानवीय हताहतीबारे आधिकारिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

यसैबीच कुवेतको सेनाले मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको छ। कुवेती सेनाको जनरल स्टाफले देशको वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम)ले ‘शत्रु’का मिसाइल र ड्रोनहरूको सामना गरिरहेको बताएको छ।

इरानले इस्लामावाद सम्झौता अनुसार ‘होर्मुज स्ट्रेट’(जलमार्ग)मा यातायात नियन्त्रण गर्ने जिम्मेवारी इरानको भएको दाबी गर्दै नियम उल्लंघन गर्ने जहाजहरूविरुद्ध थप कडा कारबाही गर्ने चेतावनी दिएको छ। उसले युद्धविराम उल्लंघन भएमा इस्लामावाद सम्झौताका आगामी प्रक्रियाहरू अवरुद्ध हुन सक्ने पनि बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यस कदमप्रति कडा प्रतिक्रिया दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि युद्धविराम सम्झौताको उल्लंघन जारी रह्यो भने इरानको अस्तित्व समाप्त हुनेछ।’

ट्रम्पको यो चेतावनी अमेरिकाले इरानमाथि गरेको हालैको ताजा हमलापछि आएको हो। अमेरिकी सेनाले पनामाको झण्डा भएको एक तेल ट्याङ्करमा इरानले आक्रमण गरेको दाबी गर्दै इरानका मिसाइल, ड्रोन भण्डारण र राडार केन्द्रहरूमा हमला गरेको थियो।

ट्रम्पले अगाडि लेखेका छन्, ‘उनीहरूले कहिल्यै पाठ नसिक्ने सम्भावना पनि छ। यस्तो समय आउन सक्छ जब हामीले सैन्य बल प्रयोग गरेर त्यो काम पूरा गर्नुपर्ने हुन्छ, जसको सुरुवात हामीले निकै सफलतापूर्वक गरेका थियौं। यदि त्यसो भयो भने, इस्लामिक रिपब्लिक अफ इरान अस्तित्वमा रहने छैन।’

असार १४, २०८३ आइतबार ०९:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।