ट्रेनमै भाइको हत्या भएपछि दिदीको गुनासो : ‘त्यहाँ धेरै मानिस थिए, तर मेरो भाइलाई बचाउन कोही आएनन्’

ट्रेनमै भाइको हत्या भएपछि दिदीको गुनासो : ‘त्यहाँ धेरै मानिस थिए, तर मेरो भाइलाई बचाउन कोही आएनन्’

एजेन्सी : मुम्बईको लाइफलाइन मानिने लोकल ट्रेनभित्रै एक युवकको हत्या भएपछि अहिले भारतमा सार्वजनिक सुरक्षा र मानवीय संवेदना बहसको विषय बनेको छ।

गत जुन २३ को रात चर्चगेटबाट नालासोपारा जाँदै गरेको रेलको प्रथम श्रेणीको डिब्बामा २२ वर्षीय मयंक रमेश लोहारको चक्कु प्रहार गरी हत्या गरियो। उक्त घटनाले सुरक्षासँग जोडिएका अनेकन् प्रश्न उठाएको छ।

भाइ गुमाउनुको पीडा व्यक्त गर्दै मृतककी दिदी मेघा लोहारले भीडभित्रको मौनतामाथि प्रश्न उठाएकी छन्। उनले भनिन्, "पर्याप्त सुरक्षा व्यवस्था नभएका कारण मेरो भाइ जोगिन सकेन। त्यहाँ धेरै मानिस थिए, तैपनि मेरो भाइलाई बचाउन कोही पनि अगाडि आएनन्।"

घटनाको पृष्ठभूमि
जुन २३ को राति मुम्बईमा भारी वर्षा भइरहेको थियो। रेलको डिब्बाको ढोका खुल्ला भएकाले भित्र पानी र चिसो हावा पसेपछि मयंकले ट्रेनमा सवार ३० वर्षीय रोशन सुवर्णालाई ढोका बन्द गर्न आग्रह गरेका थिए। 

सोही विषयमा दुईबीच सामान्य भनाभन सुरु भयो। विवाद बढ्दै जाँदा सुवर्णाले आफ्नो झोलामा रहेको धारिलो चक्कुले मयंकको पेटमा प्रहार गरेको आरोप छ। घाइते मयंकको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

न्यायको माग
हालै स्नातक तह पुरा गरी अंधेरीस्थित एक मलमा सेल्सम्यानको काम सुरु गरेका मयंक आफ्नो परिवारका मुख्य आर्थिक आधार थिए। ५२ वर्षीय चालक (ड्राइभर) बुबा, आमा र तीन भाइबहिनीको जिम्मेवारी उनीमाथि नै थियो। 

मृत्युका बुबा रमेश लोहारले अभियुक्तलाई कडा सजायको माग गरेका छन्। "मेरो छोराले ढोका बन्द गर्न आग्रह मात्र गरेको थियो, तर उसको ज्यान लिइयो। हामी न्याय चाहन्छौं," उनले भने।

अभियुक्तको पक्ष
हत्यापछि करिब १५ घण्टासम्म फरार रहेका अभियुक्त रोशन सुवर्णालाई प्रहरीले जुन २४ मा पनवेलबाट पक्राउ गरेको थियो। मुम्बई विमानस्थलको कार्गो ह्यान्डलिङ सेन्टरमा कार्यरत सुवर्णाले मदिराको नशामा रिसको आवेगमा आक्रमण गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। 

यद्यपि, उनका वकिलले भने मयंकले सुरुमा हात हाल्दा अभियुक्तको चस्मा खसेको र सोही आवेगमा घटना भएको दाबी गरेका छन्। अभियुक्तको झोलामा चक्कु हुनुको कारण भने खुल्न सकेको छैन।

प्रशासनको भनाइ
पश्चिम रेलवे प्रशासनले दुःख व्यक्त गर्दै घटनालाई गम्भीरताका साथ लिएको भनेको छ। यात्रु सुरक्षाका लागि रेलवे सधैँ प्रतिबद्ध रहेको दाबी गरे पनि एउटा सामान्य विवादले ज्यान लिएको घटनाले यात्रुहरूमाझ त्रास र सुरक्षाको चिन्ता कायमै राखेको छ। -बीबीसी हिन्दीको सहयोगमा

असार १३, २०८३ शनिबार १५:२७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।