दुबईमा बेलायती टिकटकरमाथि प्रेमी हत्याको अभियोग, दोषी पाइए गोली हानेर मृत्युदण्ड दिइने

दुबईमा बेलायती टिकटकरमाथि प्रेमी हत्याको अभियोग, दोषी पाइए गोली हानेर मृत्युदण्ड दिइने

एजेन्सी : संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा २३ वर्षीया बेलायती टिकटक इन्फ्लुएन्सर ब्रुक जर्जमाथि आफ्ना २६ वर्षीय बेलायती प्रेमीको हत्या गरेको अभियोग लागेको छ।

बेलायतको केन्ट स्थायी घर भएकी ब्रुकलाई गत जुन २२ को बिहान नियन्त्रणमा लिई ‘योजनाबद्ध हत्या’को मुद्दा दर्ता गरिएको हो। यूएईको कानुनअनुसार यदि यस मुद्दामा दोषी ठहरिएमा उनलाई गोली हानेर मृत्युदण्डको सजाय हुन सक्नेछ।

अनलाइन भेट र सुरु भएको घरेलु हिंसा
विदेशीहरूका लागि कानुनी सहयोग गर्ने संस्था ‘डिटेन्ड इन दुबई’का अनुसार ब्रुक र उनका प्रेमीको भेट अनलाइनमार्फत भएको थियो। पहिलोपटक दुबई घुम्न जाँदा उनीहरू निकै खुसी थिए, तर दोस्रो यात्राका क्रममा उनीहरूको सम्बन्धमा दरार आयो।

संस्थाकी सीईओ राधा स्टर्लिङका अनुसार ब्रुकका प्रेमीले उनीमाथि कडा नियन्त्रण राख्नुका साथै शारीरिक र मानसिक हिंसा सुरु गरेका थिए।

प्रेमीले ब्रुकमाथि मुक्का प्रहार गर्ने र उनको पासपोर्टसमेत खोसेर अपार्टमेन्टमै बन्धक जस्तै बनाएको आरोप लगाइएको छ। सोही हिंस्रक आक्रमणबाट उम्कन र आफ्नो ज्यान बचाउन उनले आत्मरक्षाका लागि छेवैमा रहेको चक्कु प्रहार गरेको दाबी ब्रुकले गरेकी छन्।

ब्रुककी आमा थेरेजा जर्जले आफ्नी छोरीको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्। घटना हुनुभन्दा अघिल्लो दिन छोरी पहिले जस्तो खुसी नदेखिएको र निकै शान्त रहेको उनले बताइन्।

‘त्यस रात उनीहरू दुबईको एउटा बारमा गएका थिए। घटनालगत्तै छोरीसँग कुरा हुँदा उनी अत्यधिक डराएकी र रोइरहेकी थिइन्। उनको एउटा आँखा निलो डामसहित नराम्ररी सुन्निएको थियो’, आमा थेरेजाले भनिन्।

राधा स्टर्लिङका अनुसार ब्रुकका साथीहरूले उनलाई योजनाबद्ध रूपमा फसाउनका लागि वान-वे टिकट काटेर दुबई बोलाइएको आशंका गरेका छन्।

पहिलो यात्राका क्रममा उनको बिकिनीमा फोटोशुट गराइएको थियो भने दोस्रो यात्रामा उनको राहदानी खोसिएको थियो। ब्रुकले आफू संकटमा रहेको र त्यहाँबाट भाग्न चाहेको कुरा साथीहरूलाई बताएकी थिइन्।

हिरासतमा अमानवीय व्यवहार र दूतावासको पहुँचमा रोक
हिरासतमा रहँदा ब्रुकले गम्भीर अमानवीय व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्।

उनलाई कुनै महिला प्रहरीको उपस्थिति बिना नै पुरुष प्रहरी अधिकारीहरूका अगाडि जबर्जस्ती लुगा खोल्न लगाइएको थियो, जसलाई उनले निकै अपमानजनक र पीडादायी अनुभव भनेकी छन्।

यसका साथै, उनलाई सुरुमा बेलायती दूतावासका अधिकारीहरूसँग भेट्न रोक लगाइएको थियो र बिना वकिल नै बयान दिन बाध्य पारिएको थियो।

बेलायतको परराष्ट्र मन्त्रालयले यस मामिलालाई ध्यानमा राख्दै हिरासतमा रहेकी ती बेलायती महिला र उनको परिवारलाई आवश्यक कूटनीतिक सहयोग गरिरहेको जनाएको छ।

‘डिटेन्ड इन दुबई’ले ब्रुकलाई तत्काल धरौटीमा रिहा गर्न, उचित कानुनी तथा चिकित्सा सहायता उपलब्ध गराउन र यो सम्पूर्ण घटनालाई घरेलु हिंसा एवं आत्मरक्षाको कोणबाट हेर्न यूएई सरकारसँग माग गरेको छ।

असार १३, २०८३ शनिबार १३:३९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।