भेनेजुएला भूकम्पमा छोरी बचाएर आफ्नै प्राण त्यागेकी एन्ड्रिया

भेनेजुएला भूकम्पमा छोरी बचाएर आफ्नै प्राण त्यागेकी एन्ड्रिया

एजेन्सी : भेनेजुएलामा हालै गएको शक्तिशाली भूकम्पमा आफ्नी सानी छोरीको ज्यान बचाउने क्रममा एक आमाले आफ्नो ज्यान गुमाएकी छन्।

भेनेजुएलाका फुटबल खेलाडी हेक्टर बेल्लोकी श्रीमती एन्ड्रियाले भूकम्पको समयमा आफ्नी छोरीलाई बचाउँदै प्राण त्यागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फुटबलर बेल्लोले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नी श्रीमतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘म हाम्रो छोरीलाई तिमीले उनको ज्यान कसरी बचाएकी थियौ भनेर कथा सुनाउनेछु। तिमी कति साहसी थियौ र आफ्नो अन्तिम सास फेर्दासम्म पनि छोरीलाई कसरी सुरक्षित राख्यौ भनेर उनलाई भन्नेछु।’

बेल्लो हाल आफ्नी घाइते छोरीलाई भेट्न काराकासको अस्पताल पुगेका छन्। उनकी छोरी र आफन्तको अवस्था अहिले सामान्य छ।

आफ्नो पीडा पोख्दै बेल्लोले अगाडि लेखेका छन्, ‘आफ्नो ज्यान दिएर तिम्रो आमाले तिम्रो ज्यान बचाएकी थिइन् र म त्यहाँ केही गर्नका लागि उपस्थित थिइनँ भनेर म छोरीलाई कसरी सम्झाऊँ? मलाई यो पीडा सहन शक्ति देऊ।’

स्थानीय फुटबल संस्था ‘कुमाना डे काम्पियोनेस’का अनुसार उनीहरू बसोबास गर्ने अपार्टमेन्ट भत्किँदा एन्ड्रिया भग्नावशेषमा मृत फेला परेकी थिइन्, तर उनकी सानी छोरी भने जीवितै उद्धार गरिएकी थिइन्।

राजधानी काराकास नजिकै गएको दुईवटा शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा ९२० जनाको मृत्यु भइसकेको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन्। उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गरिरहेका छन्।

भूकम्पमा परेर खेलकुद क्षेत्रका व्यक्तिहरूले पनि ज्यान गुमाएका छन्। भेनेजुएला फुटबल महासंघका अनुसार दुई युवा फुटबल खेलाडीहरू पनि यस भूकम्पमा मारिएका छन्। काराकास फुटबल क्लबका १८ वर्षमुनिका खेलाडी रजान सिजा र क्लब स्पोर्ट सन अगस्टिनका एकेडेमी खेलाडी भिक्टर पालासियोसको भूकम्पमा परेर मृत्यु भएको छ।

यसैगरी, पूर्व मिस भेनेजुएला जिसेल रेयेसकी आमाको पनि भूकम्पको झट्काका कारण हृदयघात भएर मृत्यु भएको छ। ला गुइरामा रहेको उनको अपार्टमेन्ट पूर्ण रूपमा भत्किएपछि उनलाई गम्भीर मानसिक धक्का लागेको र हृदयघात भएको बताइएको छ। उनकी हेरचाह गर्ने नर्स भने भग्नावशेषबाट जीवितै उद्धार हुन सफल भएकी छन्।

असार १३, २०८३ शनिबार ११:४४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।