पानीको बोत्तल किन्दा पनि टिप दिनुपरेपछि विश्वकप हेर्न पुगेका विदेशी समर्थकहरू हैरान
एजेन्सी : अमेरिकामा भइरहेको विश्वकप फुटबल हेर्न पुगेका थुप्रै अन्तर्राष्ट्रिय समर्थकहरू त्यहाँको ‘टिप कल्चर’बाट हैरान भएका छन्।
विभिन्न देशबाट आएका समर्थकहरूले बीबीसीसँग कुरा गर्दै अमेरिकाको यो टिपिङ संस्कृतिले आफ्नो खर्च निकै बढाएको र आफूहरू यसबाट आजित भएको बताएका छन्।
बेलायत, अस्ट्रेलिया र जापान जस्ता देशहरूबाट आएका पर्यटकहरूका लागि अमेरिकाको टिपिङ संस्कृति नौलो र बुझ्न गाह्रो बनेको छ।
बेलायतका फुटबल समर्थक जियोफ प्रियरले राम्रो सेवाका लागि टिप दिनु स्वाभाविक भए पनि एउटा पानीको बोतल किन्दा समेत टिपको अपेक्षा राख्नु अचम्मको कुरा भएको बताए।
त्यस्तै, अस्ट्रेलियाका समर्थकहरूले आफ्नो देशमा निश्चित शुल्क मात्र तिर्नुपर्ने नियम रहेको बताए।

उनीहरूका अनुसार खेलको टिकट पहिले नै महँगो भएको र त्यसमाथि हरेक पटक पेय पदार्थ किन्दा थप पैसा टिप दिनुपर्दा बजेट निकै बढेको छ।
उनीहरूले आफ्ना कर्मचारीलाई राम्रो तलब दिने जिम्मेवारी व्यवसायकै हुनुपर्ने र यसको भार ग्राहकमाथि थोपर्न नहुने विचार व्यक्त गरे।
जापानबाट आएका समर्थकहरूले आफ्नो देशमा टिप दिने चलन नै नभएको बताए। सामान्य रेस्टुरेन्टमा ३० डलरको खाना खाँदा त्यसमाथि १३ देखि २० प्रतिशतसम्म टिप थप्दा खर्च धान्नै नसकिने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ।
रेस्टुरेन्ट सञ्चालक र कर्मचारीहरूको बाध्यता
अर्कोतर्फ, अमेरिकी रेस्टुरेन्ट तथा बार सञ्चालकहरूका अनुसार विदेशी पर्यटकहरूले टिप नदिँदा वा निकै कम दिँदा त्यहाँका कर्मचारीहरूलाई मर्का परेको छ।
अमेरिकाका कतिपय राज्यहरूमा रेस्टुरेन्टका कर्मचारीहरूको आधारभूत तलब प्रतिघण्टा २ डलर जति मात्र हुन्छ।
एटलान्टा जस्ता सहरमा टिप पाउने कर्मचारीको न्यूनतम तलब प्रतिघण्टा २.१३ डलर तोकिएको छ। त्यसैले उनीहरू आफ्नो गुजाराका लागि ग्राहकले दिने २० प्रतिशत टिपमा पूर्ण रूपमा निर्भर हुन्छन्।
न्युयोर्कका बार सञ्चालकहरूले युरोपेली देशहरूमा सेवा शुल्क पहिल्यै बिलमा जोडिएको हुने तर अमेरिकामा त्यस्तो नहुने भएकाले विदेशी ग्राहकहरूलाई यो कुरा बुझाउन गाह्रो भइरहेको बताए।
कतिपय बारहरूले त आफ्ना कर्मचारीको अधिकार रक्षाका लागि बुकिङ गर्दा नै सेवा शुल्कसहितको रकम पहिल्यै भुक्तानी लिने व्यवस्था समेत सुरु गरेका छन्।
असार १३, २०८३ शनिबार ०९:३१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।