भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र
काठमाडौं : भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पपछि मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने चार हजार तीन सय भन्दा बढी मानिस घाइते भएका छन्।
भेनेजुएलाकी स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार अधिकांश घाइते सामान्य अवस्थाका भए पनि धेरै गम्भीर घाइतेको शल्यक्रिया गर्नुपरेको छ। उनले अस्पतालमा ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको जानकारी दिइन्।
भत्किएका भवनहरूको भग्नावशेष भित्र धेरै मानिसहरू फसिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। राजधानी काराकास र नजिकैको तटीय सहर ला गुइरामा भग्नावशेष भित्रबाट मानिसहरूले उद्धारका लागि गुहार मागिरहेको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
भूकम्पका कारण हजारौँ मानिस घरबारविहीन भएका छन् भने कतिपय मानिसहरू क्षतिग्रस्त भवनहरू फेरि भत्किने डरले सडकमै रात बिताउन बाध्य छन्।
भूकम्पका कारण राजधानी काराकाससहित ला गुआइरा, काराबाल्लेडा, भार्गासलगायतका क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ। हजारौं भवन भत्किएका छन् भने सडक, पुल र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
विपद्पछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। भेनेजुएलाको नेशनल एसेम्बलीका अध्यक्ष होर्खे रोड्रिगेजले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै विशेष गरी तटीय क्षेत्र ला गुइरामा मात्रै २५० भन्दा बढी भवनहरू ध्वस्त वा क्षतिग्रस्त भएको जानकारी दिए। त्यहाँ एउटा १० तले होटल पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको भिडियो बीबीसीले पुष्टि गरेको छ।
यसबीच प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र पारिएको छ। सयौं स्थानीय स्वयंसेवकले पानी, खाद्यान्न, औषधि, लत्ताकपडा तथा अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि स्वयंसेवक परिचालन गर्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ।
अमेरिकाले पनि मानवीय सहायता अभियानलाई सहयोग गर्न आफ्नो दक्षिणी कमाण्ड मार्फत सी–१७ ग्लोबमास्टर र सी–१३० हरक्युलिस सैन्य मालवाहक विमान परिचालन गरेको छ। ती विमानमार्फत राहत सामग्री, उद्धार उपकरण तथा आवश्यक जनशक्ति प्रभावित क्षेत्रमा पुर्याइँदैछ। अमेरिकी सरकारले १५ करोड डलर (११ करोड ३० लाख पाउण्ड) बराबरको सहायता प्याकेज घोषणा गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले भेनेजुएला सरकारसँग समन्वय गरेर आपत्कालीन राहत तथा मानवीय सहायता उपलब्ध गराइरहेको बताएका छन्।
यस्तै, फ्रान्सले राष्ट्रपति इमानुएल म्याक्रोँको निर्देशनमा चिकित्सक, उद्धारकर्मी, खोजी कुकुर र भग्नावशेषबाट उद्धार गर्ने विशेषज्ञसहितको विशेष टोली पठाएको छ। यो टोली युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत परिचालन गरिएको हो। स्विट्जरल्यान्डले पनि ८० जना विशेषज्ञ, आठवटा खोजी कुकुर तथा करिब १८ टन उद्धार सामग्रीसहितको ‘स्विस रेस्क्यु चेन’ टोली काराकासतर्फ पठाएको छ।
उक्त टोलीले स्थानीय निकायसँग समन्वय गरी भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारमा सहयोग गर्नेछ। अन्तर्राष्ट्रिय समुदायबाट राहत, उद्धार तथा मानवीय सहयोग निरन्तर बढिरहेका बेला प्रभावित क्षेत्रमा अझै हजारौं मानिस बेपत्ता रहेको आशंका गरिएको छ। उद्धारकर्मीहरूले भग्नावशेष हटाउने कार्य जारी राखेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको भूकम्पले झन् शक्तिशाली धक्का महसुस गरिएको थियो। दुवै भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा कम गहिराइमा (पहिलो २०.३ किमी र दोस्रो मात्र १० किमी गहिराइमा) रहेका कारण विनाश बढी भएको विज्ञहरूले बताएका छन्।
भुकम्प बुधबार स्थानीय समय अनुसार ६ बजे गएको थियो। उक्त दिन भेनेजुएलामा राष्ट्रिय बिदा भएकाले सामान्य कार्यदिनको तुलनामा धेरै मानिसहरू आ-आफ्नो घरमै थिए।
असार १२, २०८३ शुक्रबार ११:५१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।