भेनेजुएलामा भूकम्पमा परेर १६४ जनाको मृत्यु, मृतकको संख्या हजारौँ पुग्न सक्ने अनुमान

भेनेजुएलामा भूकम्पमा परेर १६४ जनाको मृत्यु, मृतकको संख्या हजारौँ पुग्न सक्ने अनुमान

एजेन्सी : भेनेजुएलामा बुधबार साँझ गएका दुईवटा शक्तिशाली भूकम्पमा कम्तीमा १६४ जनाको मृत्यु भएको छ। भूकम्पमा परेर अहिलेसम्म कम्तीमा १६४ जनाको मृत्यु भइसकेको र ९७१ भन्दा बढी घाइते भएका भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले जानकारी दिए। भवनहरू भत्किने क्रम जारी रहेकाले यो संख्या अझै बढ्ने अनुमान छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युइसजिसी) ले भूकम्पका कारण ज्यान गुमाउनेहरूको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरेको छ।

बुधबार बेलुका राजधानी काराकासभन्दा करिब १६० किलोमिटर पश्चिममा रहेको सान फेलिपे शहरलाई केन्द्रविन्दु बनाएर एक मिनेटभन्दा कमको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए। पहिलो भूकम्प ७.२ म्याग्निच्युड र त्यसको लगत्तै ७.५ म्याग्निच्युडको अर्को मुख्य भूकम्प गएको भूगर्भविद्हरूले बताएका छन्। भेनेजुएलाको स्वतन्त्रता संग्रामको ऐतिहासिक युद्धको सम्झनामा सार्वजनिक बिदा भएकाले धेरैजसो मानिसहरू घरमै रहेका बेला बेलुका ६ बजे तिर भूकम्प गएको थियो।

राजधानी काराकास र आसपासका क्षेत्रमा दर्जनौँ भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने मुख्य अन्तर्राष्ट्रिय विमानस्थल र अस्पतालहरूमा पनि क्षति पुगेको छ। ला गुइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ दर्जनौँ भवनहरू भत्किएका छन् र यसलाई 'विपद् क्षेत्र' घोषणा गरिएको छ।

भूकम्पले ठूलो क्षति भएपछी सरकारले देशभर संकटकाल घोषणा गरेको छ। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले भत्किएका अस्पताल, आवास र पूर्वाधार पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को स्रोत प्रयोग गरी २०० मिलियन डलरको प्रारम्भिक कोष स्थापना गर्ने घोषणा गरेका छन्।

घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ। काराकास स्टक एक्सचेन्जलाई शुक्रबारदेखि राहत सामग्री (खाद्यान्न, पानी, औषधि) सङ्कलन केन्द्र बनाइने बताइएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा 'ठूलो संख्यामा मानवीय क्षति' हुन सक्ने भन्दै दुःख व्यक्त गरेका छन्। उनले संकटको यस घडीमा भेनेजुएलालाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रस्ताव समेत गरेका छन्।

असार ११, २०८३ बिहीबार १६:५९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।