पश्चिमी युरोपमा भीषण गर्मी : फ्रान्स, बेलायत र स्पेनमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड
एजेन्सी : पश्चिमी युरोपमा चलिरहेको भीषण गर्मीका कारण विभिन्न देशहरूमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ।
फ्रान्समा इतिहासकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ भने बेलायतमा जुन महिनाको सबैभन्दा उच्च तापक्रम मापन गरिएको छ। यस्तै, स्पेनमा सन् १९५० यताकै सबैभन्दा बढी दैनिक औसत तापक्रम रेकर्ड भएको छ।
अहिले युरोपका करोडौं मानिसहरू चर्को गर्मीको सामना गरिरहेका छन्। फ्रान्सको राजधानी पेरिसमा तापक्रम करिब ४१ डिग्री सेल्सियससम्म पुगेको छ।
गर्मी अत्यधिक बढेपछि युरोप महाद्वीपका ठूला क्षेत्रहरूमा ‘रेड हीट अलर्ट’ जारी गरिएको छ।
फ्रान्समा सन् १९४७ देखि तापक्रमको रेकर्ड राख्न थालिए यता हिजोको दिनलाई इतिहासकै सबैभन्दा तातो दिन मानिएको छ।
देशको आधाभन्दा बढी भागमा अझै पनि रेड हीट अलर्ट कायमै छ भने गर्मीका कारण पश्चिमी क्षेत्रका हजारौँ घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।
जलवायु परिवर्तनका कारण विश्वभर नै तापक्रम बढिरहेको छ, तर यसको प्रभाव युरोपमा अझ बढी देखिएको छ।
‘कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस’का अनुसार युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तातिरहेको महाद्वीप हो। यहाँ विश्वको औसतभन्दा झन्डै दोब्बर गतिमा तापक्रम बढिरहेको छ।
यसकै परिणाम स्वरूप गर्मीयाममा अत्यधिक तातो हावा चल्ने घटनाहरू बढिरहेका छन्। यसले गर्दा खानेपानी लगायतका जलस्रोतहरूमा दबाब बढेको छ भने जङ्गलमा डढेलो लाग्ने घटनाहरू पनि तीव्र बन्दै गएका छन्।
असार ११, २०८३ बिहीबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।