भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प, राजधानी कराकासमा ठूलो क्षति
एजेन्सी : भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प गएका छन्।
भूकम्पका कारण राजधानी कराकास लगायतका क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ भने थुप्रै भवनहरू भत्किएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार एक मिनेटभन्दा कम समयको अन्तरालमा यी दुई भूकम्प गएका हुन्।
पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो, जसको केन्द्रविन्दु याराकुई राज्यको सान फेलिपे नजिक जमिनमुनि थियो।

त्यसको ठीक ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गयो, जसको केन्द्रविन्दु युमारेभन्दा २३ किलोमिटर दक्षिण-पूर्वमा जमिनमुनि १० किलोमिटर गहिराइमा थियो । भूकम्पको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो।
भूकम्पका कारण राजधानी कराकासको चाकाओ नगरपालिकामा कम्तीमा दुईवटा ठूला भवनहरू पूर्ण रूपमा भत्किएका छन्। भत्किएका भवनका भग्नावशेषबाट हालसम्म १८ जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य मानिसहरूको खोजीका लागि ५०० भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरिएका छन्।
त्यस्तै, कराकासको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्षति पुगेको छ। भूकम्प गएका बेला विमानस्थलको सिलिङ खस्न थालेपछि मानिसहरू ज्यान जोगाउन भागभाग गरिरहेको भिडियोहरू सार्वजनिक भएका छन्।

भूकम्प लगत्तै भेनेजुएलाका साथै भर्जिन टापुहरूमा सुनामीको चेतावनी जारी गरिएको थियो, जसलाई पछि फिर्ता लिइयो।
भूकम्पपछि हुनसक्ने सम्भावित ग्याँस विस्फोट र आगलागी रोक्न धेरै भवनहरूमा इन्धन र ग्याँसको आपूर्ति बन्द गरिएको छ। देशका गृहमन्त्री डियोस्डाडो काबेलोले नागरिकहरूलाई घरभित्र नल बस्न र सुरक्षित खुला स्थानमा जान आग्रह गरेका छन्।
ठूलो मानवीय क्षतिको आशंका
अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पबाट ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुनसक्ने प्रक्षेपण गरेको छ। पहाडी क्षेत्रमा पहिरो जान सक्ने र नदी किनारका कमजोर जमिनहरू भासिन सक्ने जोखिम उच्च रहेको बताइएको छ।
भूकम्प जुन २४ तारिख साँझ ६:०४ बजे गएको थियो। यो दिन भेनेजुएलाको राष्ट्रिय बिदा (काराबोबो युद्धको सम्झना दिवस) भएकाले धेरैजसो मानिसहरू घरमै थिए। स्थानीयबासीहरूका अनुसार उनीहरूले आफ्नो जीवनमा यति ठूलो भूकम्प कहिल्यै महसुस गरेका थिएनन्।

यसअघि सन् १९६७ मा कराकासमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। अहिलेको भूकम्पले पनि तिनै पुराना क्षेत्रहरूमा बढी क्षति पुर्याएको छ।
भेनेजुएलाकी विपक्षी दलकी नेत्री मारिया कोरिना माचाडोले दुःखको यस घडीमा सबै देशवासीलाई एकजुट र धैर्य रहन आग्रह गर्दै प्रभावित परिवारहरूप्रति सहानुभूति प्रकट गरेकी छन्।
असार ११, २०८३ बिहीबार ०८:००:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।