'आईएम जित बहादुर' : निर्माता बन्ने रहरमा हराएको जितुको अभिनय

'आईएम जित बहादुर' : निर्माता बन्ने रहरमा हराएको जितुको अभिनय

थिएटर र व्यावसायिक फिल्मको नियम हो कथालाई कलाकारको रहर अनुसार नबङ्ग्याई कथाको मागअनुसार आफूलाई ढाल्नु। जितु नेपालको अभिनयको परिचयमा हास्य कलाकार हाबी भए पनि 'कार्साङ', 'ज्वाइँ साब' मा उनले अभिनयबाट फरक परिचय बनाउने प्रयास गरेका थिए। अरूको निर्देशन र लेखनमा रहँदा उनको अभिनयको फरक पाटो पनि देखिएको थियो। तर 'आईएम जित बहादुर' मा उनले आफ्नो अभिनयको सीमा बिर्सिएको अनुभव हुन्छ।

जब एउटा स्थापित कलाकार आफैँ निर्माता बन्छ फिल्म चलाउने धुनमा फिल्ममा 'मेकर' भन्दा 'स्टार' हाबी हुन पुग्छ। यो फिल्मले पनि यही कमजोरी अनुभव गराउँछ।

मुख्य कलाकार नै लगानीकर्ता हुँदा निर्देशक र लेखकको सिर्जनात्मक स्वतन्त्रता कता-कता खुम्चिन पुग्छ। निर्माता नै मुख्य हिरो भएपछि निर्देशकले उनको कमजोरीलाई खुलेर 'कट' भन्न वा अभिनय परिमार्जन गराउन सक्दैनन्, जसको असर कमजोर निर्देशकीय पाटोमा देखिन्छ। यसमा पनि यस्तै समस्या देखियो।

कथासार

कथाको केन्द्रमा छन् जित बहादुर (जितु नेपाल), जसको मुख्य काम गाउँलेहरूलाई नाटक देखाएर मनोरञ्जन गराउनु हो। ऊ घरको काम भन्दा बढी समय नाटकमै खर्चिन्छ। घर खर्च चलाउनका लागि उनका वृद्ध बुबा बजारमा हातले बाटेको धूप बेच्छन्, जुन यो परिवारको एकमात्र आयस्रोत हो। जित बहादुरकी श्रीमती नीति (वर्षा राउत) घरमा ससुरालाई धूप बनाउन सघाउँछिन्। यी दम्पतीकी एउटी सानी छोरी छिन्, जसको पढाइ खर्च पनि त्यही धूपकै भरमा टिकेको छ।

गाउँमा नाटक चलिरहेकै बेला नाट्य गुरु (विजय बराल) ले अन्तर्राष्ट्रिय स्तरको मञ्चका लागि महाभारत नाटकको रिहर्सल गराउन थाल्छन्। तर, सोही समयमा जित बहादुरका बुबा अचानक बिरामी परेर ओछ्यान पर्छन्। 

बुबा बिरामी भएपछि घर चलाउन श्रीमती नीति आफैँ धूप बेच्न बजार हिँड्छे। त्यो देखेपछि चित्त दुखाउँदै र रिसाउँदै जित बहादुर आफैँ धूप बेच्न जान्छ।

धूप बेच्ने क्रममै कलाकार आरपी पन्तले जित बहादुरको अभिनय र कला देख्छन् र भन्छन् "कलाकार बन्नुपर्ने मान्छे कहाँ धूप बेचेर बसेको? काठमाडौँ आऊ, फिल्म खेल्नुपर्छ।" 

उनले जित बहादुरलाई एउटा भिजिटिङ कार्ड दिन्छन्। आरपीको कुराले जित बहादुरको मनमा काठमाडौँ छिर्ने र हिरो बन्ने सपना पलाउँछ।

तर, नाटकका गुरु विजय बरालले भने 'थिएटर मजाक होइन' भन्दै नाटकका मान्छेहरू फिल्ममा जाँदा नाट्य क्षेत्रमा नकारात्मक प्रभाव परेको तर्क गर्छन् र जित बहादुरको हातबाट भिजिटिङ कार्ड खोसेर च्यातिदिन्छन्। सपना च्यातिएर दुखी बनेको जित बहादुरले घरमा पुगेर च्यातिएको कार्ड जोड्छ। श्रीमतीले श्रीमानको इच्छा बुझेर पूर्ण साथ दिन्छिन् तर बुबाले भने काठमाडौँ जान रोक्छन्। अन्ततः बुबाको कुरालाई त्याग्दै ऊ राति नै काठमाडौँका लागि गुड्छ।

त्यसपछि के हुन्छ? के उसले फिल्म खेल्न पाउँछ? कथामा सन्दीप क्षेत्री तथा प्रियङ्का कार्कीको इन्ट्री कसरी हुन्छ? यी प्रश्नको उत्तरका लागि भने हलमै पुग्नुपर्ने हुन्छ।

बलियो पक्ष 

फिल्मको नामदेखि दृश्यहरूले जित बहादुर फिल्म उनकै बायोपिक हो झैँ देखिन्छ। फिल्ममा उनको मात्र कथा भनेका छैनन्, फिल्म क्षेत्रमा संघर्ष गरिरहेका अनेकौँ भुइँमान्छे र कलाकारहरूको सामूहिक संघर्षको पाटो उधिन्ने प्रयास गरेका छन्। यो फिल्मको सबैभन्दा बलियो पक्ष हो।

वर्षा राउतले रैथाने श्रीमतीको भूमिका जीवन्त रूपमा निर्वाह गरेकी छन्। सधैँ हँसाउने कमेडियन सन्दीप क्षेत्रीले 'अमित' को चरित्रमा निकै गज्जबको अभिनय गरेका छन्। उनले जितुको चरित्रलाई उत्थान गर्न सक्दो साथ दिएका छन्।

संकटको घडीमा अमितलाई भगवान् मानेको जितुले जब श्रीमतीले घर धितो राखेर पठाएको २० लाख रुपैयाँ हात पार्छ, त्यसपछिको उसको व्यवहार र बदलिएको मनोविज्ञान फिल्मको सुन्दर पाटो हो। 

पैसा नहाल्न चेतावनी दिँदादिँदै पनि फिल्म निर्माणको नशामा डुबेको जितुले त्यो रकम हिरोइन तथा निर्माता भनिएकी सुनिता (प्रियङ्का कार्की) लाई बुझाउन लैजान्छ, जसले फिल्म उद्योगको एउटा तितो यथार्थ देखाउने प्रयास गरेको छ।

हजुरबुबाले नातिनीलाई स्कुल लैजाँदै गर्दा क्यामेरा सररर अगाडि बढेर खिचिएको 'कन्टिन्युटी सट' निकै प्राकृतिक लाग्छ। निर्देशकले फिल्मलाई ठेली सिरियल हुनबाट जोगाउन सक्दो प्रयास गरेका छन्। प्रस्तुतिमा केही नयाँपन दिने प्रयास गरेका छन् 

कमजोर पक्ष

फिल्मको मुख्य समस्या नै यसको फितलो र झुर पटकथा नै हो। कमजोर लेखनमा मुख्य पात्र जितु नेपालको अभिनय पनि कता-कता खल्लो र 'लाउड' लाग्छ। धेरै ठाउँमा उनको अभिनयले दर्शकलाई बाँध्न सक्दैन, बरु 'वाहियात' महसुस गराउँछ।

घरमा बुबा खसेको खबर सुनेपछि बानेश्वर चोकको बिच सडकमा रोएको दृश्य होस् या बाटो बनाउन बसेका मजदुरहरूसँग सिमेन्टको घोल बनाउँदा चिया-बिस्कुट खाएको दृश्य, यी दृश्यहरूले वास्तविक संघर्ष भन्दा पनि जबरजस्ती 'डिट्र्याक' भएको महसुस गराउँछन्।

कथाले अभिनेता देशभक्त खनालबाट जुन गहिराइ खोजेको थियो, उनको अति 'लाउड' अभिनयका कारण त्यो पात्रले न्याय पाउन सकेको छैन। स्वयम् जितु नेपाल पनि यो चरित्रमा पूर्ण रूपमा फिट देखिएका छैनन्।

धूप बेच्न हिँडेकी नीतिको हातबाट झोला खोसिएर उनी घरतर्फ फर्किँदा क्यामेरा असाध्यै हल्लिएको छ। त्यो दृश्यमा क्यामेरा हल्लिनुपर्ने कुनै साङ्केतिक कारण देखिँदैन। 

छायाङ्कनका केही दृश्यबाहेक अधिकांश दृश्यहरू एउटै परम्परागत एंगलमा खिचिएका छन्, जसमा कुनै नयाँपन छैन। सम्पादन र कलर ग्रेडिङ पनि औसत मात्रै छ।

फिल्ममा समावेश गरिएको ‘बाचा यो मेरो भो’ बोलको गीत न त कलाकारको ओजनसँग म्याच खान्छ, न त फिल्मको कथाको गतिमा यसको कुनै अर्थ नै देखिन्छ।

अन्त्यमा,

जितुको अभिनय नै नराम्रो त होइन, तर फिल्मलाई परिष्कृत र बलियो बनाउन चरित्र सुहाउँदो पात्र चयन गर्न निर्माण पक्ष चुकेकै हो। फिल्मभित्र देखाइने फिल्म (मेटा-सिनेमा) को पाटो र अनावश्यक गीतहरू कटौती गरेको भए फिल्म अझ कसिलो बन्ने थियो।

अभिनयका हिसाबले सन्दीप क्षेत्री र वर्षा राउतले दर्शकलाई हलमा मज्जाले भुलाउन सक्छन्। छोटो भूमिकामा भए पनि सन्दीपको काम तारिफयोग्य छ। 

जितुले यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, आर्यन सिग्देल, नीति शाहदेखि दिनेश डिसीसम्मका स्थापित अनुहारहरूलाई अतिथि भूमिकामा प्रस्तुत गरेर दर्शक तान्ने 'मसला' त हालेका छन्, तर ती अनावश्यक दृश्यहरू नराखेको भए फिल्म बढी व्यावसायिक र कलात्मक बन्न सक्थ्यो।

असार १०, २०८३ बुधबार १६:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।