युरोपमा हीटवेवको कहर, फ्रान्ससहितका कयौं देशमा ‘रेड अलर्ट’ जारी

युरोपमा हीटवेवको कहर, फ्रान्ससहितका कयौं देशमा ‘रेड अलर्ट’ जारी

एजेन्सी : युरोपेली मुलुकहरूमा अत्यधिक गर्मी र तातो लहर (हीटवेव)का कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। यस वर्षको भीषण गर्मीबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूमा फ्रान्स, स्पेन, इटाली र इङ्गल्याण्ड रहेका छन्।

स्पेनका धेरैजसो स्थानमा मंगलबार अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। राजधानी मड्रिड लगायतका क्षेत्रमा सर्वसाधारण गर्मीबाट जोगिन पार्क र पानीका फोहोरामा शीतल खोजिरहेका छन्।

त्यस्तै, अफ्रिकाबाट आएको तातो हावाका कारण इटालीको फ्लोरेन्स लगायतका सहरमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। गर्मी अत्यधिक बढेपछि त्यहाँका अधिकारीहरूले ‘रेड हिट अलर्ट’को अवधि थप गरेका छन्।

फ्रान्सको मौसम पूर्वानुमान एजेन्सी ‘मेटियो फ्रान्स’का अनुसार मंगलबार देशको औसत तापक्रम २९.८ डिग्री सेल्सियस पुगेको छ, जुन जुन महिनाको इतिहासकै सबैभन्दा तातो दिन हो।

यसअघि सोमबार राति फ्रान्समा न्यूनतम औसत तापक्रम २१.६ डिग्री सेल्सियस दर्ता गरिएको थियो, जुन जुन महिनाको इतिहासकै सबैभन्दा तातो रात हो। गर्मीका कारण फ्रान्सका आधाभन्दा बढी क्षेत्रमा हाल ‘रेड अलर्ट’ जारी गरिएको छ।

मंगलबार इङ्गल्याण्डमा पनि तापक्रम बढेर तातो लहर (लू) को स्तरमा पुगेको छ। मौसमविद्हरूका अनुसार आउँदो हप्ता त्यहाँको तापक्रम अझै बढ्न सक्ने सम्भावना छ। अत्यधिक गर्मीका कारण युरोपका विभिन्न सहरहरूमा पार्क, झरना र पौडी खेल्ने ठाउँहरूमा सर्वसाधारणको अत्यधिक भीड लाग्न थालेको छ।

असार १०, २०८३ बुधबार १४:१६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।