‘डाक्टरसाब! क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ नि हैन?’
भक्तपुर : ‘डाक्टरसाब, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ कि मिल्दैन? के यो रोग फेरि दोहोरिन्छ? क्यान्सर जितेपछि पहिलाकै जस्तो सामान्य जीवन जिउन सकिएला?’
सूर्यविनायक नगरपालिकाद्वारा आयोजित क्यान्सर रोगसम्बन्धी सचेतना तथा उत्प्रेरणा कार्यक्रममा क्यान्सरलाई पराजित गरेका र हाल उपचार गराइरहेका बिरामीहरूले चिकित्सकसमक्ष यस्तै जिज्ञासासहित आफ्ना पीडा र भोगाइहरू राखेका छन्।
नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले बिरामीका यी जिज्ञासाहरूको निवारण गर्दै हौसला बढाएका हुन्।
बिरामीका प्रश्नहरूको जवाफ दिँदै डा. चालिसेले क्यान्सर निको भइसकेपछि सहज रूपमा गर्भधारण गर्न र स्वस्थ बच्चा जन्माउन सकिने स्पष्ट पारे।
‘क्यान्सर पहिलो, दोस्रो वा तेस्रो चरणमै पत्ता लागेर समयमै सही उपचार गरे यो पूर्ण रूपमा निको हुन्छ र पुरानै सहज जीवनमा फर्कन सकिन्छ,’ उनले भने, ‘चौथो चरणमा पुगेपछि मात्र उपचारमा जटिलता आउने हो। त्यसैले रोग लाग्दैमा नआत्तिई नियमित उपचार र चिकित्सकको सम्पर्कमा रहनुपर्छ।’
उनले क्यान्सरका विषयमा गाउँ-गाउँसम्म सचेतना फैलाउनु पर्ने आवश्यकता समेत औँल्याए।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले क्यान्सरसँग लडेर जीवन जितेकाहरूको अनुभवले उपचाररत बिरामीहरूमा नयाँ आशा र आत्मविश्वास जगाउने विश्वास व्यक्त गरिन्।
उनले बिरामी, परिवार, स्वास्थ्य संस्था र स्थानीय सरकारबीच सहकार्यको वातावरण बनाउन यो कार्यक्रम फलदायी भएको बताइन्।
त्यस्तै, नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले क्यान्सरलाई केवल शारीरिक समस्याका रूपमा मात्र नहेरी यसलाई मानसिक, सामाजिक र आर्थिक पक्षसँग जोडेर बहुआयामिक रूपमा हेरिनुपर्ने विचार व्यक्त गरे।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईंका अनुसार सूर्यविनायक नगरपालिकाभित्र हाल २४० जना क्यान्सर प्रभावित व्यक्तिहरूले स्थानीय सरकारका तर्फबाट विभिन्न किसिमका सहयोग तथा स्वास्थ्य सेवाहरू प्राप्त गरिरहेका छन्।
कार्यक्रममा नगर क्षेत्रभित्रका क्यान्सर पीडित र यसलाई पराजित गरिसकेका नागरिकहरूको उत्साहजनक सहभागिता थियो।
असार ९, २०८३ मंगलबार ०८:०३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।