अमेरिका-इरान वार्ताको पहिलो चरणमा ‘उत्साहजनक प्रगति’ भएको मध्यस्तकर्ताहरूको दाबी
एजेन्सी : अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि अन्तिम सम्झौता गर्ने उद्देश्यले स्वीट्जरल्यान्डमा भएको पहिलो चरणको वार्ता सकारात्मक दिशामा अघि बढेको मध्यस्थकर्ता राष्ट्रहरू कतार र पाकिस्तानले जनाएका छन्।
गएको हप्ता दुई देशबीच भएको प्रारम्भिक सम्झौतापछि आइतबारदेखि स्वीट्जरल्यान्डमा औपचारिक वार्ता सुरु भएको हो।
सोमबार कतार र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार, दुवै पक्षबीच आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी एउटा ‘उच्चस्तरीय कार्यतालिका’मा सहमति जुटेको छ। यस विषयमा प्राविधिक छलफलहरू यसै साताभरि जारी रहने बताइएको छ।
वार्तामा सहभागी एक अमेरिकी कूटनीतिज्ञका अनुसार, मुख्य छलफल हर्मुज जलमार्ग खुला गर्ने र लेबनानमा युद्धविराम लागू गर्ने विषयमा केन्द्रित थियो।
व्यापारिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न र हर्मुज जलमार्गमा कुनै पनि किसिमको गलत सञ्चार हुन नदिन दुवै पक्षबीच एउटा छुट्टै ‘सञ्चार सम्पर्क प्रणाली’ स्थापना गर्ने सहमति भएको छ। विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी हुने यो जलमार्ग बन्द हुँदा विश्व बजारमा इन्धनको मूल्य बढेको थियो।
यसैगरी, लेबनानमा सैन्य कारबाही पूर्ण रूपमा रोक्नका लागि दुवै पक्ष, लेबनान सरकार र मध्यस्थकर्ताहरूको सहभागितामा एउटा ‘सम्पर्क कक्ष’ स्थापना गर्ने निर्णयसमेत भएको छ।
आणविक कार्यक्रम र नयाँ सम्बन्धको खोजी
वार्तामा इरानको आणविक कार्यक्रमका विषयमा पनि छलफल भएको छ। अमेरिकी वार्ता टोलीका नेतृत्वकर्ता तथा उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बन्धमा नयाँ अध्याय सुरु गर्न चाहेको बताएका छन्।
भान्सले भने, ‘यदि इरान क्षेत्रीय अस्थिरता फैलाउन छाड्न र आणविक हतियारको महत्त्वाकांक्षा त्याग्न तयार हुन्छ भने अमेरिका मूलभूत रूपमै सम्बन्ध सुधार्न तयार छ।’
तर इरानले भने आफ्नो आणविक कार्यक्रम सधैँ शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।
वार्ता चलिरहेकै बेला अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा इरानलाई चेतावनी दिँदै लेबनानमा रहेका आफ्ना सहयोगी समूहहरू (प्रोक्सी) लाई तत्काल अशान्ति फैलाउन रोक्न भनेका थिए। उनले त्यसो नगरिए इरानमाथि फेरि कडा कारबाही गर्ने धम्की दिएका थिए।
यसको जवाफ दिँदै इरानी मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले अमेरिकी धम्कीको कुनै अर्थ नभएको र इरान कुरामा भन्दा काममा विश्वास गर्ने बताएका थिए।
अर्कातर्फ, लेबनानमा इजरायल र हिजबुल्लाहबीचको संघर्ष जारी नै छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको सुरक्षाका लागि आवश्यक भएसम्म इजरायली सेना दक्षिणी लेबनानमै रहने अडान लिएका छन्।
हिजबुल्लाहका नेता नैम कासिमले भने इजरायली सेनाको उपस्थितिलाई स्वीकार नगर्ने र आफ्नो रक्षा आफैँ गर्ने बताएका छन्।
स्वीट्जरल्यान्डको बुरगेनस्टक रिसोर्टमा भएको यस वार्तामा अमेरिकी टोलीमा उपराष्ट्रपति जेडी भान्स, ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष प्रतिनिधि स्टिभ विट्कोफ सहभागी थिए। इरानका तर्फबाट मुख्य वार्ताकार गालिबाफ र विदेशमन्त्री अब्बास अराघची उपस्थित थिए।
मध्यस्थकर्ताका रूपमा पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख तथा कतारका प्रधानमन्त्री पनि स्वीट्जरल्यान्ड पुगेका थिए।
केही दिनअघि दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेको प्रारम्भिक सम्झौतामा इरानले हर्मुज जलमार्ग पुनः खुला गर्ने, अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको सैन्य नाकाबन्दी हटाउने, अमेरिकाले इरानमाथिका सबै प्रकारका आर्थिक प्रतिबन्धहरू अन्त्य गर्ने र इरानको पुनर्निर्माणका लागि ३०० अर्ब डलरको योजना कार्यान्वयन गरिने उल्लेख थियो।
असार ८, २०८३ सोमबार १०:२६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।