महाधिवेशनमा रवि र बालेनको मनमा देखिएको 'गुटको भूत'

महाधिवेशनमा रवि र बालेनको मनमा देखिएको 'गुटको भूत'

काठमाडौं : चितवनको भरतपुरमा  भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचनमा गुटगत प्रतिस्पर्धाबाट पार्टी सभापति रवि लामिछाने अनि वरिष्ठ नेता वालेन्द्र शाह दुवै चिन्तित देखिए।

रास्वपा स्थापनापछि पहिलो पटक नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ। प्रतिस्पर्धालाई कसिलो बनाउन निर्वाचन समितिले उम्मेदवारको शुल्कदेखि प्रस्तावक र समर्थकहरूको संख्या ठूलो बनाइदिएको छ। विधानमै सभापतिले धेरै पदाधिकारी र सदस्यहरू नियुक्त गर्ने अधिकार दिए पनि महाधिवेशनमा गुटहीन प्रतिस्पर्धा हुनेमा रवि अनि वालेन्द्र दुवै ढुक्क देखिएनन्। 

उद्घाटन सत्रमै सभापति रविले भने "त्याग र बलिदान अरूले गर्दा खुसी हुने, तर आफूले गर्दा दुःख मान्ने प्रवृत्तिबाट सचेत रहनुपर्छ। विगतका दलका अनुभवबाट सिकेर गुट-उपगुटको राजनीति अन्त्य गर्नुपर्छ।" 

वालेन्द्र शाहले कार्यक्रममा शुभकामना दिन आएका विभिन्न दलका नेताहरूले व्यक्त गरेको धारणामा ब्याटल शैलीमा जवाफ दिँदादिँदै पनि उनले गुटको प्रशंग छाडेनन्।

उनले भने "राम्रो नेता बन्न समूह बनाउनु हुँदैन। गुट-उपगुट बनाउने, पदका लागि समूह खडा गर्ने बिउ रोप्ने काम नगरौँ। हामीले पुराना दलका कमजोरीबाट सिक्नुपर्छ।"

जिल्लादेखि प्रदेशसम्म देखिएको गुटको छायाँ

रवि र बालेन दुवैले महाधिवेशनको उद्घाटन सत्रमै 'गुटको चिन्ता' व्यक्त गर्नुको कारण पार्टीको जिल्लादेखि प्रदेशसम्मको निर्वाचनमा देखिएको माहोल प्रमुख कारण देखिन्छ।

रास्वपाको जिल्ला र प्रदेश अधिवेशन तथा निर्वाचनको समयमा पार्टीले बाहिर "हामीकहाँ गुट छैन र चुनाव लोकतान्त्रिक अभ्यास मात्र हो" भनेर दाबी गरे पनि आन्तरिक रूपमा पुराना दलहरूमा जस्तै प्रवृत्तिको गुटगत टसल र असन्तुष्टि प्रस्ट रूपमा सतहमा आएको थियो।

विशेष गरी महाधिवेशन अगाडि भएका जिल्ला र प्रदेश तहका निर्वाचनमा गुटको प्रभाव प्रस्टै देखियो।

केन्द्रले जिल्ला र प्रदेशमा प्यानल बनाएर प्रतिस्पर्धा नगर्न, सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्न र केन्द्रका पदाधिकारी र सांसदहरूलाई हस्तक्षेप नगर्न निर्देशन दिए पनि त्यो सम्भव भएन। गुटगत प्रभावका कारण पार्टीले मधेस प्रदेशको अधिकांश जिल्ला र प्रदेशको निर्वाचन समेत गर्न सकेन।

रास्वपाको कोशी प्रदेश अधिवेशनमा गुटको टसल सबैभन्दा खुला रूपमा देखिएको थियो। कोशी प्रदेश सभापति पदका लागि भएको तीव्र प्रतिस्पर्धामा राजेश राई निर्वाचित भए। तर, पराजित भएकी नेतृ ललिता तामाङले निर्वाचन परिणाम लगत्तै पार्टीभित्र "आन्तरिक सिन्डिकेट र निषेधको राजनीति" भएको आरोप लगाउँदै राजनीतिबाटै संन्यासको घोषणा गरेकी थिइन्। 

संस्थापन समूह भर्सेज बालेन/मुकुल समूह

पार्टीभित्र सभापति रवि लामिछाने र केन्द्रले रुचाएका उम्मेदवारहरूलाई जिताउन 'अदृश्य प्यानल' नै बनेको कतिपय जिल्ला तहका नेताहरूको गुनासो गरेका थिए।

जिल्ला अधिवेशनहरूमा प्राइमरी इलेक्सन भनिए पनि भित्रभित्रै केन्द्रका प्रभावशाली नेताहरूको आशीर्वाद पाएका व्यक्तिहरूले मात्र नेतृत्व हात पारेको भन्दै पुराना कार्यकर्तामा चरम असन्तुष्टि देखिएको थियो।

जिल्ला तथा प्रदेश स्तरमा महिला र पुराना कार्यकर्ताहरू पाखा लगाइएको भन्दै आलोचना भयो। उदाहरणका लागि, कोशीका ९ वटा जिल्लाको अधिवेशन हुँदा एउटै पनि महिलाले जिल्ला सभापतिको नेतृत्व पाउन सकेनन्। 

सर्वसम्मतिको नाममा 'दबाब' र केन्द्रको हस्तक्षेप

धेरैजसो जिल्ला र निर्वाचन क्षेत्रमा 'विवाद बाहिर नजाओस्' भन्नका लागि लोकतान्त्रिक प्रतिस्पर्धा गराउनुभन्दा 'सर्वसम्मति' को नाटक रचिएको आरोप लाग्यो।

प्रतिस्पर्धा गर्न खोज्ने आकांक्षीहरूलाई केन्द्रको डर देखाएर वा आगामी आम निर्वाचनमा टिकटको प्रलोभन दिएर उम्मेदवारी फिर्ता लिन लगाइएका उदाहरणहरू बाहिर आए।

म्याग्दी लगायतका कतिपय जिल्लामा पुराना उम्मेदवारहरूलाई थमथमाएर सर्वसम्मत गराइयो भने कतिपय ठाउँमा चुनावी प्रतिस्पर्धा हुँदा पराजित पक्षले "गुटबन्दीका कारण हारिएको" भन्दै सामाजिक सञ्जालमै असन्तोष पोखे।

पूर्व महामन्त्री डा. मुकुल ढकाल निकट मानिएका वा उनीसँगै पार्टी स्थापनामा खटेका पुराना अनुहारहरूलाई यसपटक प्रतिनिधि छनोट र जिल्ला/प्रदेशको नेतृत्वमा सुनियोजित ढंगले किनारा लगाएको आरोप चर्किइरहेको छ।

त्यसमा थप दुवै नेताले जति प्रयास गरे पनि पार्टीभित्र वालेन्द्र समूह र रवि समूह अर्थात् जेनजी आन्दोलनपछि मौका हेरेर पार्टीमा आएका र पार्टीको स्थापनाकादेखि नै खटिएकाबीच विवाद देखिन्छ। त्यसमा मुख्य वालेन्द्र समूहसँगै विवेकशील साझा समूह र थरुहट समूह छन्।

पार्टीभित्र अहिले "नयाँ आएका (काठमाडौं केन्द्रित मिडिया र व्यावसायिक पृष्ठभूमि भएका) र पुराना भुइँतहका कार्यकर्ता"बिच स्पष्ट गुट देखिन्छ।

रवि लामिछाने र वालेन्द्र शाहले महाधिवेशनको मञ्चबाटै "गुट-उपगुट बनाए वृक्ष नै काट्नुपर्छ" भनेर कार्यकर्तालाई थर्काउनुको मुख्य कारण नै जिल्ला र प्रदेश निर्वाचनमा देखिएको आन्तरिक अदृश्य गुटबन्दीको प्रभाव हो। 

असार ७, २०८३ आइतबार २१:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।