संकट चिर्दै दुई-तिहाइको यात्रा : रास्वपाको उदय, पतन र पुनरागमनको चार वर्ष
काठमाडौँ : काठमाडौं महानगरपालिकासहित तीन स्थानीय तहका मेयरमा स्वतन्त्र उम्मेदवारको जीतसँगै टेलिभिजनको पर्दा छाडेर २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर रवि लामिछाने राजनीतिको मैदानमा ओर्लिँदा नेपाली राजनीतिक इतिहासको एउटा ठूलो उथलपुथलको प्रस्थान विन्दु बन्ला भन्ने सायदै कसैले सोचेका थिए।
स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित चुनावी सफलता, सत्ताको स्वाद, नागरिकता विवाद, सहकारी ठगीको गम्भीर आरोप र पार्टी सभापति नै कारागार पुग्नेसम्मको चरम संकट ४ वर्षभित्रै व्यहोर्यो। तर, संकटको भुमरीमा सेकिएको यो पार्टी यतिबेला मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा चितवनको भरतपुरमा आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन गरिरहेको छ।
२०७७ पुसमा केपी शर्मा ओलीले संसद् विघटन गरेपछि जनतामा पुराना दलहरूप्रति आक्रोश चुलियो। त्यसैको परिणाम स्वरूप २०७९ वैशाखको स्थानीय चुनावमा काठमाडौंमा वालेन्द्र शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमाल जस्ता स्वतन्त्र उम्मेदवारहरू विजयी भए। बालेन शाहको त्यही जितले लामिछानेलाई राजनीतिक दल खोल्ने आत्मविश्वास दियो।
नयाँ बानेश्वरको इन्द्रेणी बैंक्वेटमा स्वतन्त्र अभियन्ताहरूको भेलाबाट नाम जुर्यो राष्ट्रिय स्वतन्त्र पार्ट। चिन्ह जुर्यो घण्टी। यही नाम र चिह्न बोकेर २०७९ असार १७ मा रास्वपा निर्वाचन आयोगमा दर्ता भयो। नाम र चुनाव चिन्ह जुराउन डा मुकुल ढकालको सक्रियता देखिन्छ। तर पहिलो महाधिवेशन गर्दा उनै ढकाल भने यो पार्टीमा छैनन्।
स्थापनादेखि ऐतिहासिक महाधिवेशनसम्म
रास्वपाको यो चारवर्षे यात्रा उत्साह, उछाल र संकटको अनुपम सम्मिश्रण हो। स्थापनादेखि दुई-तिहाइ बहुमतसहित सत्ताको नेतृत्व र पहिलो महाधिवेशनसम्मको मुख्य घटनाक्रमलाई निम्न टाइमलाइनमा हेर्न सकिन्छ:
२०८२ फागुन २१ को आम निर्वाचनमा रास्वपाले १ सय ८३ सिटसहित ऐतिहासिक दुई-तिहाइ बहुमत हासिल गर्यो। पूर्व सहमति अनुसार वालेन्द्र शाह मुलुकको प्रधानमन्त्री बने। अहिले असार ७ मा रास्वपा चितवनमा आफ्नो पहिलो महाधिवेशन गरिरहेको छ।
सङ्कटले निखारेको वैकल्पिक शक्ति
पार्टी सभापति नै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा रहँदा रास्वपाभित्र ठूलो सन्नाटा छाएको थियो। कतिपयले यो दलको भविष्य सकिएको टिप्पणी समेत गरे। तर, रास्वपा सङ्कटपछि झन् बलियो भएर उठ्यो। त्यसका लागि जीवनदान बन्यो भदौ २३ र २४ को जेनजी आन्दोलन।
निकै कमजोर बनिसकेको रास्वपामा दलका नेताहरू लाखापाखा लाग्नेक्रम सुरु भइसकेको थियो। सुमना श्रेष्ठसहितका केही प्रभावशाली नेताहरूले रास्वपा परित्याग गरे। पार्टीको संगठन विस्तार हुन सकिरहेको थिएन। केन्द्रीय समिति नै अपुरो थियो।
जब पार्टी सभापति लामिछाने सहकारी ठगीमा बिगोमा बाहिर निस्किए पार्टीको चहलपहल बढ्यो। जेनजी आन्दोलनको आयोजनामा प्रत्यक्ष नदेखिए पनि केन्द्रमा पुगिसकेका थिए बालेन। अकस्मात् बालेन र रविबीच राजनीतिक संवाद अगाडि बढ्यो।
जुन नाटकीय रूपमा रवि र बालेनबीच राजनीतिक संवाद सुरु भएको थियो त्यही रूपमा पुन बालेन अलग्गै राजनीतिक शक्ति निर्माणमा सक्रिय भए। अगाडि बढिरहेको राजनीतिक सहकार्यमा बालेन अलग दलबाट अगाडि बढ्ने तयारी भएपछि रवि आफैँ उनलाई भेट्न पुगे। त्यसको प्रभावले पुस १३ मा शाह र लामिछानेबीच 'बालेनले सरकार र रविले पार्टी' सम्हाल्ने गरी ७ बुँदे समझदारी भयो।
यो बिचमा विवेकशील साझाकी समीक्षा बाँस्कोटा र रञ्जु दर्शनाको टोली, तथा जेन-जी आन्दोलनमा सहभागी केपी खनाल र सुधन गुरुङ लगायतकाहरु एउटै मञ्चमा आए। थारूहट आन्दोलनकी नेत्री गीता चौधरी (हाल कृषिमन्त्री) को समूह पनि यसैमा मिसियो। जसको प्रभावले फागुन २१ को निर्वाचनमा अकल्पनीय २ तिहाइ बराबरको जनमत प्राप्त गर्यो र सरकार बनायो।
'विचारहीनता' को आरोपबाट संवैधानिक समाजवादको मार्ग
रास्वपामाथि स्थापनाकालदेखि नै वैचारिक रूपमा स्पष्ट नभएको र पपुलिजम (लोकप्रियतावाद) मा कुदेको आरोप लाग्दै आएको थियो। सुरुमा नेताहरूले 'सेन्टर टु लेफ्ट' र 'मध्यमार्गी' भन्दै आफ्नो राजनीतिक नीतिको व्याख्या गरे पनि कतै व्यवस्था कै विरोधमा त हैनन् भन्ने शंका कायमै रह्यो। अन्ततः पहिलो महाधिवेशन अगाडि आफ्नो वैचारिक लाइन स्पष्ट पार्यो।
४ वर्षपछि चितवनमा भइरहेको पहिलो महाधिवेशनले आफ्नो विधानमा "बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली" र "संवैधानिक समाजवाद" लाई आफ्नो मूल मार्गचित्र घोषणा गर्यो।
महाधिवेशनको अग्निपरीक्षा
संसद्मा २१ सिटको चौथो ठूलो दलबाट सुरु भएको रास्वपा आज ५ लाखभन्दा बढी सक्रिय सदस्यसहित देशका ७७ वटै जिल्ला, पालिका र वडा तहसम्म सञ्जाल भएको र केन्द्रमा १८३ सिटसहित सत्ताको बागडोर सम्हाल्ने मूलधारको ठूलो पार्टी बनेको छ।
पार्टीका प्रवक्ता मनीष झाको शब्दमा "अहिलेसम्मको चुनावी उछाल रास्वपाको आम्दानी मात्र थियो, अब यो महाधिवेशनमार्फत संस्थागत अभ्यास गरेर त्यसलाई स्थायी सम्पत्तिमा परिणत गर्ने रास्वपाको असली परीक्षा सुरु भएको छ।"
यो परीक्षामा रास्वपा कतिको सफल हुन्छ? तीन दिन चितवनमा हुने लोकतान्त्रिक अभ्यासले देखाउने नै छ।
असार ७, २०८३ आइतबार १५:५३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।